अन्तर्राष्ट्रिय बाघ दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ लाई अन्तर्राष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । सम्मेलनले सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य पनि निर्धारण गरेको थियो । केही हदसम्म बाघको संख्यामा वृद्धि भए पनि त्यसको दीगो सरंक्षणमा भने चुनौती देखिएको छ । नेपालमा हरेक चार वर्षमा बाघ गणना हुँदै आएको छ ।
जैविक विविधतामा पारिस्थितिक प्रणालीको सूचक मानिने बाघ नेपालमा उल्लेख्य रुपमा बढ्दो क्रममा छ । नेपालले बाघ वृद्धि गर्ने विषयमा चासो दिए पनि त्यसको दीगो संरक्षणमा भने त्यत्ति चासो दिएको देखिदैन । बाघको संख्या बढेसँगै यसको दीगो संरक्षणमा चुनौती थपिएको छ । मानवसँगको बढ्दो द्वन्द, साँघुरिएको बासस्थान र आहारा अभाव लगायत चोरी सिकारीको थ्रेट पछिल्लो समय बाघ संरक्षणमा प्रमुख चुनौतीका रुपमा देखिएको हो । बाघको संख्यात्मक वृद्धि भएसँगै मध्यवर्ती क्षेत्रका वनहरुमा हिँडडुल बढेको पाइन्छ । विकास निर्माण लगायत वनक्षेत्र अतिक्रमणका कारण बाघको नयाँ बासस्थानमा समस्या आएको छ । घाँसेमैदानहरु घट्न गई आहारा प्रजातीको वृद्धिदर घटेको छ । बाघको बासस्थान पनि चरम रुपमा अतिक्रमण भइरहेको छ । यस्तो अवस्थामा बाघहरुको आहारा र सुरक्षित वासस्थानको ब्यवस्थापन गर्नु जरुरी छ । बासस्थान, आहारा प्रजातीको घनत्व, चोरी शिकार बाघ संरक्षणको प्रमुख चुनौतीको रुपमा देखा परेको छ । बाघको संख्या बढेसँगै आहारा अभावमा जंगलबाट बाहिरिने क्रमले मानव—वन्यजन्तुबीच द्वन्दको स्थिति सिर्जना भएको छ । नेपालमा स्थापित निकुञ्जहरुले बाघ संरक्षणका लागि घाँसेमैदान, पोखरी, वासस्थान लगायत आहारा प्रजाती वृद्धिका लागि वर्षेनी कामगर्दै आइरहे पनि बढ्दो मानव समुदायको विकासले थप चुनौती थपिदिएको छ । अहिले बाघको संख्यामा वृद्धि भए पनि दीगो संरक्षणमा ध्यान नदिईए तत्काल गरिएको संरक्षणको कुनै अर्थ रहँदैन ।