Shittalpati
टेक्रेका घर–घरमा धारा, हट्यो पानीको समस्या

रामचन्द्र रायमाझी
पाल्पा,खानेपानीको समस्या झेलिरहेका पाल्पाको बगनासकाली गाउँपालिका ५ र ६ का सबै घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधीक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा यहाँका प्रत्येक घरमा धारा जडान भएपछि स्थानीय दङ्ग परेका छन् ।
एक गाग्री पानीका लागि दैनिक घण्टौंसम्म समय खेर फाल्नुपर्ने बाध्यता रहेको स्थानीयवासीलाई अहिले घरको आँगानमै लिफ्टिङ्ग मार्फत स्वच्छ पिउने पानी आएपछि सपना जस्तै लाग्न थालेको छ । आँगनमा खानेपानीको धारा आउला भनेर कल्पना समेत नगरेकी यम्घा टेक्रेकी रक्षा सुनारलाई आजभोलि सपना जस्तै लागेको छ ।
लामो समयसम्म पानीको समस्या समधान हुन नसकेको र अहिले आएर आँगनमै पानीको धारा खस्दा आफुलाई सपनाजस्तै लागेको सुनार बताउँछिन् । उनी भन्छिन् ‘यसरी पानी आउँला भन्ने कल्पना समेत गरेकी थिइन, अहिले पानी आयो अब सबै समस्या समधान हुने भयो ।’ टेक्रेका विरबहादुर खाम्चालाई पनि खानेपानीकोे सहज सुविधा होला भनेर सपनामा पनि नचिताएको बताउँछन् । ‘पानी लिनका लागि घण्टौं कुर्नुपर्दा बालबालिकालाई विद्यालय पठाउँन, मेलापात गर्नसमेत गाह्रो भएको थियो’, उनले भने, ‘अहिले समयको पनि बचत भएको छ, बिहान घर धन्दा गरेर मेलापात गर्न पनि सजिलो हुन थालेको छ ।’ ‘धारामा पानी लिन एक घण्टासम्म लाइन बस्दा पनि पानी नपाएर रित्तै गाग्री लिएरसमेत फर्कनु पथ्र्यो, पानीको अभाव हुँदा कहिले त गाउँ नै छोडर जाउँ जस्तो पनि लाग्थ्यो, अहिले घरमै पानी आएपछि गाउँ नै स्वर्गजस्तो लाग्न थालेको छ’ खाम्चा भन्छन् । टेक्रेको दलित र जनजातिको बसोबास रहेको यस बस्तीमा खानेपानीको समस्याको कारण बसाई सराईको क्रम समेत बढेको थियो । जब घर घरमा खानेपानीको सुविधा पुग्यो तब पानीको सुविधाले बसाइसराई मात्र रोकिएको छैन स्थानीयहरुको दैनिकी समेत फेरिएको छ ।
खानेपानीको सुविधा नहुँदा तरकारी किनेर खानेले अहिले खेरा गएको धाराको पानीलाई उपयोग गरेर तरकारी खेति गरी तरकारीमा आत्मनिर्भर बनेको स्थानीय बासिन्दा टोप बहादुर गाहा बताउँछन् । गाउँमा खानेपानीको समस्याका कारण यहाँ छोरी बिहे गरेर दिन दु.ख मान्ने प्रचलन थियो । राती सुत्न पाइदैन थियो, बास एक बिहानको टाढा पधेरामा हुन्थ्र्यो । कहिले काही पानी नै सकिएर रित्तो गार्गी लिएर फर्कन पर्ने थियो । तर त्यो दिन सम्झदा आज सपना जस्तै लाग्ने यम कुमारी सुनारले आफनो अनुभव सुनाइन् ।
बगनासकाली गाउँपालिकाको वडा. न. ५ र ६ लाई समेटेर टेक्रे भरेटुङ लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न भएपछि स्थानीय बासिन्दाको दैनिकीमा परिवर्तन आएको छ । सबैले धाराबाट खेरा गएको पानीलाई प्रयोग गरी मौसमी, बेमौसमी तरकारी लगाई जीवनस्तर परिवर्तन ल्याएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । विगतमा पानीको समस्याका कारण स्थानीयले गाउँ छोड्न लागेको अध्यक्ष बस्यालको भनाई छ । उनले भने,‘अहिले भने सबैका घर घरमा पानी आएपछि भने त्यस्तो अवस्था नरहेको बरु बाहिर गएकाहरु गाउँ फर्कन थालेका छन् ।’ सबैको घर–घरमा खानेपानीको व्यवस्थापन भएपछि खानेपानीको सुविधा मात्र नभई व्यक्तिगत सरसफाईको क्षेत्रमा समेत परिवर्तन आएको गायँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष लक्ष्मी अधिकारीले बताए । उनका अनुसार ५ सय मिटर टाढाबाट लिफ्टिङ्ग गरि सञ्चालित योजनाबाट प्रत्यक्षरुपमा एक सय ५० घर परिवार लाभान्वित भएका छन् । यहाँ खानेपानी योजान सम्पन्न गर्नका लागि स्थानीय जनताको २१ लाख खानेपानी तथा सरसफाई डिभिजन कार्यलयको १ करोड २ लाख रुपैंया गरी १ करोड २३ लाख रुपैंयाको लागतमा योजना सम्पन्न भएको डिभिजन प्रमुख शिव कुमार श्रेष्ठले बताए । गाउँमा खानेपानी नहुँदाको समयको कथा र व्यथा लामो छ । योजना सम्पन्न गर्नका लागि १ सय ५० घर परिवारले २५ दिन सम्म श्रमदान गरियो पानी आउने भएपछि काम गर्दा दु.खको अनुभुति नभएको स्थानीय तथा खानेपानी उपभोक्ता समितिका अध्यक्ष विरबहादुर खाम्चाले बताए ।

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update