Shittalpati
पाल्पामा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड

रामचन्द्र रायमाझी
पाल्पा,पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्नका निम्ती अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ । जिल्लामा कोभिड–१९ को दोस्रो लहरको अवस्था भयावह बन्दै गएपछि अर्थ मन्त्रालयले पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ती मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो ।

पाल्पाका संघीय सांसदहरू सोमप्रसाद पाण्डेय र दलबहादुर रानाले स्वास्थ्य मन्त्रालय तथा आवश्यक बजेटको व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पहल गरेका थिए । सोहीअनुसार कोरोनाको महामारीले सबैतिर प्रभावित गरिरहेको सन्दर्भमा जनताको जीवन सुरक्षाका निम्ती अक्सिजन प्लान्ट निर्माण गर्न सरकारले बजेट विनियोजन गरेको जनाइएको छ ।

बजेट स्वीकृत भएपछि संघीय सांसद तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री र स्वास्थ्यमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले भनेका छन् ‘कोभिड १९ संकट व्यवस्थापन समिति पाल्पाको माग बमोजिम स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्न १ करोड ५० लाख रूपैयाँ स्वीकृत गरेको छ । अक्सिजन प्लान्ट निर्माण गरी कोरोना संक्रमितको उपचारमा सहज बनाउन यो निर्णय फलदायी हुनेछ । माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलज्यू र माननीय स्वास्थ्यमन्त्रीज्यूलाई धन्यवाद ।’ पाल्पा क्षेत्र नं. २ का सांसद समेत रहेका पाण्डेले पाल्पाली जनताको सुरक्षाका लागि आफुले सक्दो पहल गर्दै आएको बताएका छन् ।

अक्सिजन प्लान्टका लागि बजेट स्वीकृत भएपछि पाल्पा सहित छिमेकी जिल्लामा अक्सिजन अभाव नहुने बताइएको छ । यस्तै पाल्पा क्षेत्र नं. १ का सांसद तथा पूर्वमन्त्री दलबहादुर रानाले पनि जिल्लास्थित कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय र पाल्पा अस्पतालको माग अनुसार अक्सिजन प्लान्ट स्थापनाका लागि रकम विनियोजन भएकोमा अर्थमन्त्री र स्वास्थ्यमन्त्रीलाई फेसबुकमार्फत धन्यवाद दिएका छन् ।

उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताए । जिल्लामा अक्सिजन अभावमा अस्पतालमा बिरामीको उपचार गर्न समस्या उत्पन्न भइरहेका बेला सरकारले अक्सिजन प्लान्टका लागि बजेट विनियोजन गरिदिएकोमा अध्यक्ष पाण्डेले सरकार र पहल गर्ने सबैलाई धन्यवाद दिएका छन् । दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरिका १२ अस्पताललाई १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये पाल्पा अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो । यहाँ प्लान्ट सञ्चालनपछि दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सहज हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update