पाल्पा । मेलमिलापकर्ता र न्यायिक समिति बीच तानसेनमा छलफल भएको छ । तानसेन नगरपालिकाको समन्वय, द एसिया फाउण्डेशनको सहयोग र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा नगरपालिकाका भित्रका वडामा क्रियाशील मेलमिलापकर्ता र न्यायिक समितिबीच अभ्यास अनुभव आदान–प्रदान कार्यक्रम भएको हो ।
छलफलमा नगरका १४ वडामा क्रियाशील मेलमिलाप संयोजकहरुले आ–आफ्ना अभ्यास र अनुभवबारे जानकारी गराएका थिए । चिरञ्जीवी खनाल, मित्रलाल नेपाली, विश्वराज रेग्मी, कल्पना पोखरेल खनाल, मञ्जु ज्ञवाली, भुनु थापा, रमेश बोहरा, चिरञ्जीवी शर्मा, शोभा शाक्य, नूरदेव पौडेल, यादवनाथ भट्टराई, दुर्गाप्रसाद अर्याल, रुद्रनाथ घिमिरे, सीताराम घिमिरे, घनश्याम गैरे, लोकबहादुर रेश्मी, दुर्गादत्त रेग्मी, श्रीधर भट्टराई र मीना जिसीले आ–आफ्ना अनुभव सुनाएका थिए । उनीहरुले नियमित बैठक बस्दै आएको, मिल्न नसकेका विषयहरु न्यायिक समितिमा पठाइएको, विवाद लिएर आउने पीडित र पीडक बीच मेलमिलापका लागि आफूहरु दिनरात लागेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख अशोककुमार शाहीले आफूलाई प्राप्त अधिकारको दायराभित्र रहेर विवाद व्यवस्थापन गर्न मेलमिलाप संयोजकहरुलाई आग्रह गरे । उनले न्यायाधिश नबन्न तथा विवाद वा झगडा घटाएर शान्तिपूर्ण समाज स्थापनामा न्यायिक समिति र मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका रहने भएकाले नगरपालिकाले आवश्यक सीप विकासको व्यवस्था गरेको बताए । विवादहरुबारे प्रक्रियासम्मत हिसावले न्यायिक समितिमा जानकारी गराउने प्रक्रिया र विवाद व्यवस्थापनका बारेमा न्यायिक समिति संयोजक लक्ष्मीदेवी पाठकले प्रष्ट पारेकी थिइन् । उनले न्यायिक समितिमा रहेका र मेलमिलापकर्ताको तालिम लिएका साथीहरुले फाटेका मन सिलाउन आफूलाई प्राप्त ज्ञान, सीपको उपयोग गर्दै प्राप्त सामग्री अध्ययन गर्नुपर्ने कुरामा जोड दिइन् । समितिका सदस्य बिनिता लुइँटेलले आफूहरुले स्थानीय सरकारले सुम्पिएको जिम्मेवारी वहन गर्दै विवाद व्यवस्थापन गर्ने गरेको बताइन् । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका रमिला हुमागाईले मेलमिलापका सवालमा तानसेन नमूना बनोस् भनेर आफुहरुले चाहेको बताइन् । अर्का सहजकर्ता इरादा पहाडीले आफूहरुले तानसेन सरकारको आवश्यकता र सहयोगी संस्था एसिया फाउण्डेसनले निर्देश गरे अनुसार काम गरेको बताइन् । द एसिया फाउण्डेसनका प्रदेश पाँचका संयोजक चुरामणि पोखरेलले न्यायिक समितिसँग सम्बन्धित मेलमिलापकर्ताहरुलाई दक्ष बनाउन तानसेन सरकारको आवश्यकता अनुसार आफूहरुले सहयोग गर्ने बताए ।