पाल्पा । युवा–युवती तथा प्रेमी–प्रेमिकाको लागि प्रेम व्यक्त गर्ने दिन हो प्रणय दिवस । सयौं युवा युवती तथा प्रेमी पे्रमिकाहरु आज साँचो प्रेम व्यक्त गर्न पाल्पाको रानीमहल दरवारमा पुगेका छन् । पछिल्लो समय रानीमहल दरवार प्रेमको प्रतिकको रुपमा चर्चित बन्दै गएको छ ।
पाल्पा, गुल्मी, स्याङ्जा र रुपन्देहीबाट सयौं युवा युवती तथा प्रेमी प्रेमीकाहरु प्रेमभाव व्यक्त गर्न रानीमहल दरवार पुगेको छन् । नवजोडी प्रेमी प्रेमिकाको लागि पाल्पाको रानीमहल दरवार आकर्षणको केन्द्र विन्दु बन्दै गएको छ । पश्चिमा समाजबाट भित्रिएको प्रणय दिवस नेपाली समाजमा समेत दिनँहु महत्व बढ्दै गएकाले प्रेमको प्रतिक पाल्पाको रानीमहलको महत्व पनि दिनहुँ बढ्दै गएको छ । सच्चा प्रेम गर्ने युवा युवतीहरुको लागि पाल्पाको रानीमहल प्रेरणादायिक स्थान बन्दै गएको हो । वि.स. १९५५ मा राणा खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा पाल्पाको कालीगण्डकी किनारामा रानीमहल दरवार निर्माण गरेका थिए ।
यसैगरी रानी महल आसपासका होटल तथा रेष्टुरामा अहिले भीडभाड बढेको छ । कतै–कतै युवा युवतीहरु उश्रृङ्खल भएर अशोभनिय व्यवहार समेत गरेका कारण पनि समस्या आउन सक्ने स्थानीय वासिन्दाले गुनासो गरेका छन् । मादक पदार्थ सेवन, जथाभावी बोल्ने, हो–हल्ला गर्ने कार्य नहोस् भनेर शर्तकता अपनाईरहेको र सुरक्षा व्यवस्था कडा गरिएको प्रहरीले जनाएको छ ।