रमेश विश्वकर्मा
गुल्मी । सहिद लखन थापाको नाममा भइरहेको लखन थापा अन्तर्राष्ट्रिय रगंशालाको निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको छ । जिल्लाको इस्मा गाउँपालिका ६ मा पर्ने बुल्मको राङदलचौरमा जिल्लामै पहिलो पटक निर्माण हुन लागेको फुटबल रङ्गशालाको कार्य तीव्र रुपमा अगाडि बढेको हो । सदरमुकाम तम्घासदेखि २१ किलोमिटर दुरीमा रङ्गशाला निर्माण भइरहेको छ । रङ्गशालाको पहिलो चरणमा ८० प्रतिशत कार्य सकिएको निर्माण व्यवसायी गणेश आर्चायले जानकारी दिए । उनका अनुसार रङ्गशालाको कटिङ्ग र फिलिङको काम सकिसकेको र रिटनिङ्गवालको काम समेत अन्तिम चरणमा पुगेको छ । अब मैदान सम्माउने र दुबो रोप्ने काम मात्र बाँकी रहेको राष्ट्रिय खेलकुद परिषदका प्राविधिक माधव देवकोटाले बताए ।
जिल्लामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण कार्यले तीव्रता पाएसँगै जिल्लावासीहरु अत्यन्तै उत्साहित भएका छन् । निर्माणधिन रङ्गशाला नजिकै मदन भण्डारी राजमार्ग, विचित्र गुफा र कुमाल समुदाय रहेकाले पनि रङ्गशाला निर्माणसँगै स्थानीय र जिल्लाको समेत समृद्धि हुने भएपछि जिल्लावासीहरु अत्यन्तै खुसी भएका हुन् । लिपपोतका लागि रातो माटो पाइने ठाउँका रूपमा परिचित स्थानमा देशकै ठूलो रङ्गशाला बन्ने भएपछि आफूहरू निकै उत्साहित भएको स्थानीयहरु बताउँछन् । रङ्गशाला निर्माणको जिम्मा सुनकोशी अभियान जेभी काठमाडौंले लिएको छ । बहुवर्षीय योजना अन्तर्गत पहिलो पटक ६ करोड लागतमा निर्माण कार्य भईरहेको हो ।
रङ्गशाला निर्माण कार्य के कस्तो भैरहेको छ भनेर समय समयमा अनुगमन समेत हुँदै आएको छ । निर्माण कार्यलाई चुस्त पार्न राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, जिल्ला समन्वय समिति र स्थानीय गाउँपालिकाले प्रत्यक्ष रुपमा रेखदेख र अनुगमन गर्दै आइरहेका छन् । रङ्गशालाको निर्माण कार्यलाई सम्पन्न गर्न सकेमा जिल्लाको पहिचान बढाउने जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए । ‘रङ्गशाला जिल्लाको गौरवको योजना हो । जति सक्दो चाँडो निर्माण गर्नुपर्दछ ।’ अनुगमनका क्रममा पराजुलीले निर्माण कार्य सम्पन्न गर्न सकेमात्र यस क्षेत्रको खेलकुद क्षेत्रले निकै नै फड्को मार्ने विश्वास व्यक्त गरे । यस क्षेत्रमा रहेका कुमाल समुदायले रातो माटोको प्रयोग गर्दै सेरामिक्सका सामग्री निर्माण गर्दै आएका छन् । रातो माटो कुमाल समुदायको जीविकोपार्जन धान्ने गतिलो आधार बनेको छ । रङ्गशाला सञ्चालनमा आएपछि कुमाल समुदायको मुहार फेरिने इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट बताए ।
प्रत्यक्ष सरोकार राख्ने भएकाले पनि यसलाई आफुहरुले महत्वका साथ हेरेको विष्टको भनाई छ । कुमाल समुदायको दैनिकी परिवर्तन गर्न र उनीहरुको आर्थिक समृद्धिका लागि पनि रङ्गशाला कोसेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे । मास्टरप्लान बमोजिम काम भएको खण्डमा वर्तमानको बजार लागत मूल्य अनुसार डेढ अर्ब लगानीमा रङ्गशाला निर्माण हुनेछ । मास्टरप्लान अनुसार रङ्गशाला भित्र फुटबल मैदान, मल्टी कभर्डहल र स्वीमिङ पुल समेत निर्माण गरिने बताईएको छ । एक सय ५ मिटर लम्बाई र ६८ मिटर चौडाईमा रङ्गशाला निर्माण हुन लागेको हो ।