Shittalpati
पाल्पाका नयाँ प्रजिअको प्रतिवद्धता सबै पक्षसँग समन्वय गर्ने

कृष्ण पोखरेल
पाल्पा । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले सबैपक्षसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । हालै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएका प्रजिअ सुवेदीले जिल्लामा शुसासन कायम गर्दै निति नियम र कानुनको परिधीमा रही सबैको समन्वयमा काम गर्ने प्रतिवद्धता जनाएका हुन ।

बुधबार जिल्लाका पत्रकारहरुसँग भेटघाट गर्दै प्रजिअ सुवेदीले सिडियोको काम सवारी साधनको मेकानिक जस्तो रहेको बताउदै जहाँ जे आवश्यकता प¥यो सोही अनुसारको भूमिका प्रस्तुत गर्नुपर्ने बताए । पत्रकारहरुसँग कुराकानी गर्दै प्रजिअ सुवेदीले पहिलो रुपमा आफ्नै कार्यालयको कामलाई चुस्त दुस्त बनाउने, दोस्रो जिल्लाका सरकारी कार्यालयको सेवा सुविधा चुस्त दुस्त बनाउने, तेस्रो रुपमा राजनितिक पुर्वाग्रह विना काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा पत्रकारहरुले जिल्लामा टिप्पर अनियन्त्रित रुपमा सञ्चालन भएको, अत्याधिक ओभरलोड बोक्दा समेत प्रहरी मुखदर्शक भएको, सरकारी सवारी साधनहरुको दुरुपयोग बढेको, मालपोत कार्यालयमा सेवाग्राहीले अनावश्यक दुःख पाएको,जिल्लाका सरकारी कार्यालयहरु सूचनामैत्री नभएको,गाउँपालिकाबाट सूचना लिन कठिन भएकाले सोही अनुसारको भूमिका निर्वाह गर्न प्रजिअ सुवेदीलाई आग्रह गरेका छन् । जनताको पक्षमा आधारित पत्रपत्रिका तथा सञ्चारमाध्यमा प्रकाशित तथा प्रसारित समाचारको मुल्याङकन गर्दै काम गर्न प्रजिअ सुवेदीलाई पत्रकारहरुले आग्रह गरेका छन् । सरकारी कार्यालयहरुमा पत्रकार मैत्री व्यवहार नभएको, सबै कार्यालयमा सूचना अधिकारीले पूर्ण जिम्मेवारी नपाएकाले पत्रकारहरुले समयमा सूचना नपाएको पत्रकारहरुले गुनासो गरेका थिए ।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update