Shittalpati
‘टोपी दिवस’ :  सामाजिक सञ्जालमा देखाउन कि, परम्परा जोगाउन ?

रामचन्द्र रायमाझी

पाल्पा ।
मेरो टोपी कैलाशको शिर जस्तो ।

मेरो टोपी हिमालको भिर जस्तो ।।

कहिल्यै पनि झुक्न नजान्ने,

कहिले पनि लुक्न नजान्ने ।

मेरो टोपी नेपाली वीर जस्तो ।।

यि हरफहरु हुन् गोपाल योञ्जनको स्वर, संगीत रचना रहेको राष्ट्रिय गीत । यि हरफहरुले देशप्रति माया गर्ने जो कोहीको मनलाई लालयित गराउँछन् । यही भावमा व्यक्त गरिएको टोपीले राष्ट्रियता अडिएको छ । यसको भरमा देश उच्च छ, अटल छ, सगरमाथा जस्तै अग्लो छ, कैलास जस्तै पवित्र छ । यसले कहिल्यै झुक्न दिएन, कहिल्यै निहुरिन दिएन,सधै नेपालीको शिर ठाडो बनाइरहयो ।

नेपाली मौलिक संस्कृतीसँग जोडिएको टोपी नेपालीको सान र मानको प्रतिक समेत रहयो । तर यही टोपीको प्रयोग भने हिजो आज आधुनिकतासँगै हराउन पुगेको छ । तिहारमा उपहार दिंदा टोपीको विकल्पमा अन्य रुप आएका छन् । यसले पनि टोपीको प्रयोग विस्तारै हराउन थालेको महसुुस गर्न थालिएको छ । टोपीको प्रयोग घट्दै गए पनि यसको पहिचान भने नेपालीले विर्सिएका छै्रनन् । नेपालीहरुले नयाँ वर्ष गेग्रोरियन पात्रो अनुसार विगत ४ वर्षअघिदेखि हरेक वर्षको जनवरी १ लाई धुमधामका साथ टोपी दिवसका रुपमा मनाउदै आएका छन् । टोपीको पहिचान कायम राख्नकै लागि सामाजिक सञ्जालबाट अभियान सूरु भएको हो । दिवसका अवसरमा देशभर नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर युवाहरुले ¥याली निकाल्ने गर्दछन् । विगतमा देशभर टोपी र दौरासुरुवाल लगाएर सडकमा युवाहरु निस्केका दृष्यहरु सामाजिक सञ्जाल र मिडियामा यत्रतत्र देख्न सकिन्थ्यो । तर यस वर्ष भने कोभिडका कारण यो अभियान सामाजिक सञ्जालमा मात्रै सिमित रह्यो ।

गएका वर्षहरुमा पाल्पाका एनविआर र काइन्ड हट सोसाईटी जस्ता संघ संस्थाहरुको आयोजनामा दिवसका दिन औपचारिक कार्यक्रमहरु हुने गरेका थिए । अहिले भने पाल्पामा कुनै कार्यक्रमहरु भएको देखिएन । बरु दिवसका दिन पाल्पाका युवाहरुले शुक्रबार विहानै ढाका टोपीमा सजिएका फोटाहरु सामाजिक सञ्जालमा पोष्ट गरिएको देखिन्थ्यो । उनीहरुले दिवसको अवसरमा शुभकामना आदान–प्रदान गर्दै टोपी लगाएका फोटाहरु पोष्ट गरेका दृष्यहरु देखिए । सामाजिक सञ्जालमा देखिएका कतिपय दृष्यहरु राष्ट्रियताप्रति ओतप्रोत भएर राखिएको देखिन्छ भने कतिपय दृष्यहरु देखाउनकै लागि पोष्ट गर्ने गरिएको साहित्यकार राजेन्द्र गोपाल सिं बताउँछन् । अघिपछि टोपी नै नलगाउने व्यक्तिले वर्षको एक दिन टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्नुले टोपीको अस्तित्व र पहिचानलाई स्वीकार गरे पनि त्यसको प्रयोगमा बेवास्त गरेको उनको बुझाई छ ।

नेपालीको पहिचानका रुपमा रहेको ढाका टोपी आधुनिकतासँगै हराउन थालेका बेला टोपी दिवस मनाउनु आफैमा राम्रो रहेको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउराली बताउँछन् । उनी भन्छन् ‘पहिले –पहिले बाबु बाजेले ढाका टोपी र दौरासुरुवाल लगाउने चलन थियो तर अहिले त्यो विस्तारै हराउदै गएको छ ।’ एक दिन टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीरहरु राख्दैमा पहिचान कायम हुन्छ भन्नु हाँस्यस्पद रहेको देउराली बताउँछन् । उनी भन्छन्‘साच्चिकै पहिचानलाई कायम राख्ने नै हो भने टोपी वर्षमा एक पटक होइन सधै भरि नै लागाउनुपर्छ ।’

टोपी दिवसका अवसरमा सामाजिक सञ्जालमा आफ्नो तस्वीर शेयर गर्नेमध्ये प्रायःले यसलाई नेपाली कला, संस्कृति र मौलिकता जोगाउने अभियानका रूपमा लिने गरेका छन् । डा. बाबुराम भट्टराईको सरकाले २०६८ सालमा राष्ट्रिय पोशाकलाई हटाईदिए पछि राष्ट्रिय भावले ओतप्रोत भएका युवामा राष्ट्रियता जागेको थियो । अन्य मुलुकले पहिचानका लागि पोशाक राखेका छन्, हामी कहाँ भएको पोशाकलाई हटाइएको छ । त्यसैले नेपाली र गोर्खालीको शानलाई बचाई राख्नको लागि पनि यो दिवस मनाउने गरिएको एन.वि. आर पाल्पाका संयोजक विक्रम कुँवरले बताए । विगतमा औपचारिक कार्यक्रम गरी दिवस मनाइए पनि यस वर्ष कोभिडका कारण कार्यक्रम गर्न नसकिएको उनी बताउँछन् । टोपीको महत्व नेपाली समाजमा पाँच सय बर्षभन्दा अगाडिदेखि नै रहेपनि दिवसका रुपमा भने ३ बर्षदेखि मनाउन थालिएको हो । ढाका टोपी नेपाली मौलिक संस्कृतीको अंग मात्र होईन, सान र मानको प्रतिकको रुपमा पनि लिईन्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update