Shittalpati
राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

पाल्पा,आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी ६१ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको हो ।

दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई सेप्टेम्बर १४, १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण तथा बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा यो दिवस मनाउने गरिन्छ । नेपालमा हरेक बर्ष बाल दिवस मनाइँदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार भने हुन सकेको पाइदैन । अझैपनि बालश्रम शोषणको घटना उत्तिकै छ भने सडकबालबालिका देखि बालबालिकाको बेचविखन तथा विद्यालय जान पाउने अधिकारबाट बच्चित बालबालिकाको संख्या ठूलो रहेको छ । सरकारले अहिलेसम्म बालबालिकाको क्षेत्रमा कुनै पनि खास अध्ययन अनुसन्धान गरेको पाईदैन । 

बरु उसले प्रत्येक वर्ष सार्वजनिक सञ्चार माध्ययममा आएका घटना समेटेर सार्वजनिक गर्दै आइरहेको छ । सरकारी तथ्याड्ढ भन्दा धेरै घटना भने अझै समाजबाट बाहिर आउन सकेका छैनन् । तर पनि सार्वजनिक भएका तथ्याड्ढलाई हेर्दा चिन्ताजनक अवस्था रहेको पाइन्छ । बालश्रम, बलात्कार, मृत्यु, बाल विवाह, हत्या, बेचविखन तथा ओसार–प्रसार, कुपोषण, गर्भपतन, आत्महत्या, अपहरण र शारीरिक सजाय जस्ता बालबालिका सम्बन्धी घटनाहरु हुने गर्दछन् । 

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरूप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update