इमान सिं राना
पाल्पा(रामपुर), रामपुरमा निर्माणधीन नगर गौशाला तथा प्रस्तावित धर्मशाला निर्माण एवं दिगो सञ्चालनका लागि सहयोगार्थ हुन लागेको श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरिएको छ । फागुन १२ गतेदेखि २० गतेसम्म रामपुर ६ तातोपानी धाममा हुन लागेको महायज्ञको बारेमा जानकारी दिन श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरेको हो ।
गौमाताको संरक्षण, प्रवद्र्धन, छाडा छाडिएका गाईहरुको रक्षार्थ, गौशाला, गौधाम तथा धर्मशाला निर्माणको लागि हुन लागेको यज्ञको बारेमा जानकारी दिदै मूल आयोजक समितिका संयोजक एवं रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले यज्ञको तयारी तिव्र गतिमा भैरहेको बताए । उनले अहिले गाईहरुको संरक्षणको लागि नगरपालिकाको सहयोगमा संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । साथै उनले गौशालालाई पर्यटकिय एवं धार्मिक स्थलको रुपमा विकास गर्नका लागि गौशाला र धर्मशाला सहितको डिपिआर तयार गरिएको बताए ।
यज्ञ बाट ५ करोड बढी आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखेको भन्दै त्यस मध्ये ३ करोडको लागतमा ३ वटा गौशालाको ट्रष्ट र झण्डै १ सयले ध्यान गर्न मिल्ने र १ सय बढी बास बस्न मिल्ने धर्मशाला निर्माण गरिने बताए । बाँकी रकमले २ करोड दिगो व्यवस्थापन गरिने बताए । कार्यक्रममा मूल आयोजक समितिका सचिव बासुदेव ढकालले यज्ञमा धार्मिक अध्येता युवा पण्डित नारायण प्रसाद न्यौपानेको मुखार विन्द बाट प्रवचन हुने बताए । श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षत, प्रचार समितिका संयोजक दुर्गेश मल्लको धन्यवाद ज्ञापन, महायज्ञ मूल आयोजक समितिका सचिव बासुदेव ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो ।