
गुल्मी, विद्यार्थी हुँदा पानीको समस्या झेलेका पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा विकास मन्त्री गोकर्ण विष्ट ३८ वर्ष पछि लिफ्टिङ्ग खानेपानी उद्घाटन गर्न पाउँदा खुसी भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका २ धागीथुममा रहेको सेतीखोला पातल लिफ्टिङ्ग खानेपानी आयोजनाको उद्घाटन गर्न पुगेका विष्टले तम्घासमा विद्यार्थी जीवन विताउँदा खानेपानीको अभावमा समस्या झेल्नुपरेको स्मरण गर्दै ३८ वर्षपछि सोही ठाउँमा खानेपानीको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताएका हुन ।
धेरै देशहरूमा पिउने पानी,सुरक्षित आवास गुणस्तरीय शिक्षा ,आत्मसम्मानजनक जीवनको सरकारले ग्यारेन्टी लिँदा नेपालमा भने जनताको घरमा पिउने पानीको धारा पुर्याउन नसक्नु,उपचारको अभावमा हरेक बर्षमा हजारौंले ज्यान गुमाउनु विडम्बना भएको भन्दै पछिल्लो समय विकासले फड्को मारेको र यसमा सरकार सकारात्मक रहेको विष्टले बताए । उनले सरकारको उद्देश्य नै जनता खुसी र सुखी गराउने भन्दै हरेक ब्यक्तिका आ–आफ्नै उद्देश्य र लक्ष्य हुने भएकाले आफू गुल्मेली जनताको प्रतिनिधि भएकाले पनि आफ्नो उद्देश्य नै जनतालाई आधारभुत आवश्यकता प्रदान गर्न निरन्तर लागेको धारणा व्यक्त गरे । कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुषालले खानेपानीको विषयमा झै झगडा पनि भएको भन्दै खानेपानी सबैको घर घरमा पर्याप्त मात्रामा पुग्नुपर्छ तर पानी तेरोमेरो भन्ने नहुने बताए ।
लिफ्टिङ्ग खानेपानी योजना उद्घाटन भएपनि यो खानेपानीको महशुल धेरै तिर्नु पर्ने भन्दै यसमा विद्युत् निशुल्क गरिनुपर्ने नगरपालिका प्रमुख भुषालको भनाइ रहेको थियो । नगरपालिकाले तत्कालै ३५ करोडको खानेपानी योजना अगाडि बढाउन लागेको बताउँदै नगरप्रमुख भुषालले एक बर्ष भित्रै तम्घासमा खानेपानीको समस्या पुर्ण रुपले निर्मुल हुने बताएका छन् । विस्तारै खानेपानीको समस्या हट्दै गएकोले अझै केहि समय धैर्य गरी बसेमा नगरभित्र बाह्रै महिना खानेपानी पर्याप्त मात्रामा हुने नगरप्रमुख भुषालले दाबी गरे । साथै कार्यक्रममा बोल्दै सबै वक्ताहरुले तम्घासमा खानेपानीको समस्या भएपनि पछिल्लो समय यो समस्या केहि हदसम्म घटेको बताएका थिए ।