
शर्मिला थापा मगर
पाल्पा । इसाई धर्मका संस्थापक येसु ख्रिस्ट जन्मेको दिनको सम्झनामा शुक्रबार देशभरका इसाई धर्मावलम्बीहरुले ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका छन् । पाल्पामा रहेका विभिन्न चर्चलेहरु पनि आ–आफ्नै तवरले उक्त पर्व मनाएका हुन् । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित जिल्लाका चर्चमा प्रार्थना लगायत सामान्य कार्यक्रम गरी मनाइएको चर्चहरुले जनाएका छन् ।
यस वर्ष कोभिडका कारण विगतमा जस्तो भव्य रुपमा कार्यक्रमहरु भने नगरिएको सम्बन्धित चर्चाहरु बताउँछन् । यसवर्ष विश्वभर फैलिरहेको कोरोना महामारी अझै पनि कायमै रहेकाले विशेष स्वास्थ्य मापदण्ड अपनाएर सामान्य औचारिक कार्यक्रमहरु मात्र गरी पर्वलाई निरन्तरता दिइएको विलिर्भस चर्चका पास्टर मानबहादुर रानाले बताए । शुक्रबार बिहानैदेखि जिल्लाका विभिन्न ठाउँमा रहेका चर्चहरुमा समामन्य भेला भएर क्रिस्चियन धर्मावलम्बीले क्रिसमस डे मनाएका हुन् । क्रिसमसका उपलक्ष्यमा जिल्लाका विलिर्भस चर्च, तानसेन चर्च र हेब्रोन चर्च लगायतका सयभन्दा बढी चर्चहरुमा सामान्य कार्यक्रम गरिएको थियो । चर्चामा धेरै जमघट हुने भएपछि घरमै आफुहरु सिमित व्यक्तिहरु जम्मा भएर परमेश्वरको वचन, भजन, प्रवचन र शुभकामना गरी मनाइएको तानसेन चर्चका ऋषिराम पराजुलीले बताए ।
विशेषगरी इसाई धर्मावलम्बीका विदेशी पर्यटकलाई आकर्षित गर्न विगत वर्षमा साजसज्जा गर्ने गरिएकोमा यस वर्ष कोरोना महामारीका कारण चहलपहल कम देखियो । विश्वका धेरै मानिसले मनाउने ‘क्रिसमस डे’ नेपालमा भने विसं २०६३ पछि महोत्सवका रूपमा मनाउन थालिएको हो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि भने इसाई धर्मावलम्बीलाई मात्र बिदा दिन थालिएको छ । यसैले हिजो देशभरका इसाई धर्मावलम्बीका लागि सार्वजनिक विदा दिइएको थियो । हाल नेपालमा ३० लाख इसाई धर्मावलम्बी रहेका छन् ।