गुल्मी । मनग्य पैसा कमाएर परिवारको सपना पूरा गर्ने साेंच सबैको हुन्छ । त्यही सोंच बोकेर उर्जावान युवाहरु विदेश पुग्छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–७ का नवराज मरासिनी पनि परिवारको सपना पूरा गर्नकै लागि कतार पुगे । ५ वर्ष कतारमा बिताएका उनी त्यहाँको समस्या झेलेर स्वदेश फर्किए । गाउँ फर्कदा विदेशको कामबाट थकित थिए उनी । धेरै पैसा कमाउने र राम्रो घर बनाएर परिवारलाई सुखले पाल्ने रहर बोकेर कतार पुगेका मरासिनीमा घर फर्कदा फेरि विदेश जाने र पैसा कमाउने रहर मरिसकेको थियो । अहिले उनी साथीहरुसँगै व्यवसायिक बाख्रापालनमा लागेका छन् । उनी जस्तै तेजबहादुर पुन पनि पाँच वर्ष दुबईमा बसेर गाउँ फर्किएका छन् । स्वदेशमा अवसर रहेको ठम्याइसहित उनी घर फर्किए ।
फर्के लगत्तै अहिले उनी पनि स्थानीय युवा नवराज मरासीनी र रघुनाथ पन्थीसँग मिलेर सामूहिक व्यवसायिक बाख्रापालनमा लागेका छन् । रघुनाथ पन्थी भने स्थानीय समाजसेवी हुन् । विदेशमा बसेर काम गर्नुभन्दा आफ्नै देशमा सजिलो र परिवारसँगै सुखदुःख साटासाट गररे काम गर्दा आनन्द पनि हुने र बाख्रापालनबाट मनग्य आम्दानी हुने भएकाले आफुहरु बाख्रापालनमा लागेको उनीहरु बताउँछन् । उनीहरुले ३ वर्ष अघिदेखि नै सामूहिक रुपमा बाख्रापालन सुरु गरेका हुन् । ५ लाख लगानीमा २० वटा बाख्राबाट व्यवसाय सुरु गरेका युवाले अहिले ५२ वटा बाख्रा बनाएका छन् । उनीहरुको र्फममा अहिले लोकल, खरी र बोयर जातका बाख्रा छन् । बाख्रापालन व्यवसायमा स्थानीयले रोजगारी समेत पाएका छन् । बाख्रापालनको राम्रो सम्भावना भएकाले यस व्यवसायमा लागेको नवराज मरासिनी बताउँछन् ।
विदेशबाट फर्केर बेरोजगारी जस्तै भएर बसेको समयमा केही गर्नुपर्छ र अरुले पनि सिकुन् भन्ने उद्देश्यले बाख्रापालन व्यवसाय गर्दै आएको मरासिनीले बताए । विदेश जानुभन्दा आफ्नै गाउँ ठाउँमा केही गर्ने उद्देश्य र कृषि तथा पशुपालनबाट जीविकोपार्जन गर्न सकिने सम्भावना देखेर व्यावसायिक रुपमै कृषिमा लागेको उनले बताए । अहिले बाख्रा फर्मबाट सामान्य रुपमा विक्री गर्न सुरु भएको छ । बोयर जातको जिउँदो बोका प्रति केजीको एक हजार, स्थानीय जातको बोका प्रतिकेजी ५ सयमा विक्री हुने गरेको छ । बिना अध्ययन बाख्रापालन गर्दा धेरै समस्या थपिएको उनीहरुको अनुभव रहेको छ । बाख्रा फर्मलाई व्यवस्थित रुपमै विस्तार गरी सय बढी बाख्रा बनाउने सोंच रहेको मरासिनीको भनाई छ । बाख्रापालन गर्दा घाँसको समस्या रहेको उनले बताए । बाख्रापालनमा व्यावसायिकता बढेसँगै मासुमा आत्मनिर्भर हुनुका साथै निर्यात समेत हुन थालेको छ । पछिल्लो समय जिल्लामा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । कम मेहनत र लगानीमै मनग्ये आम्दानी हुन थालेपछि यसतर्फ युवाहरुको आकर्षण बढेको छ । –पत्रकार अनिल खत्रीको सहयोगमा