Shittalpati
जोखिम कम गर्न सिद्धबाबा सडक खण्डको मर्मत

रामचन्द्र रायमाझी
पाल्पा । प्रदेश पाँच भित्र पर्ने तराईदेखि पहाडलाई जोड्ने एक मात्र सडक खण्ड सिद्धार्थ रणजमार्ग अन्तर्गतको सिद्धबाबा क्षेत्रमा जोखिम कम गर्न सडक मर्मतको कार्य भइरहेको छ । सडक डिभिजन कार्यालय पाल्पाले जोखिम कम गर्नका लागि घुम्ती सुधार गर्दै सडकका खाल्टा पुर्दै कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिएको हो । भारत सरकारको सहयोगमा झण्डै ४९ वर्ष अगाडि निर्माणकार्य पूरा भएको सुनौली, पोखरा सडक खण्ड मध्ये पाल्पा जिल्ला भित्रपर्ने बुटवलको चिडिया खोलादेखि दोभानसम्म सात किलोमिटर अत्यन्त जोखिम युक्त सडक भित्र पर्दछ । यस सडक खण्ड भएर यात्रा गर्ने यात्रुहरुले जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सडक डिभिजन कार्यलयले केराबारीदेखि चिडिया खोला र झुम्सा, दोभान बीचको सडक खण्डमा मर्मत कार्यलाई अगाडि बढाएको छ ।

सिद्धबाबा दोभान सडक खण्डमा संघीय सरकारले सुरुङ्गमार्ग निर्माणको कार्य गर्ने भएपछि बाँकी सडक खण्डको मर्मतको काम अगाडि बढेको डिभिजन कार्यालयले जनाएको छ । यस क्षेत्रमा सडक खाल्टाखुल्टी र साघुरा घुम्तीका कारण अत्यन्त जोखिम रहेको छ । सडकमा हुने जोखिमलाई कम गर्ने उद्देश्यले मर्मत तथा सुधारको काम भएको र दोभानदेखि पाल्पा तर्फको सडक खण्डमा वर्षाद्मा हिलाम्मे र हिउदमा धुलाम्मे हुने समस्याको अन्त्य गर्दै जोखिमलाई कम गर्ने उद्देश्यले ठेक्कामार्फत काम अगाडि बढेको कार्यालयका प्राविधिक तथा सूचना अधिकारी सौजन्य नेपालले बताए । कार्यालयले दुई शिर्षक अन्तर्गत रहेर सडक मर्मतको कार्य गर्दै आएको छ । सामान्य मर्मत र पटके मर्मत अन्तरर्गतको काम भएको सूचना अधिकारी नेपालले जानकारी दिए ।

उनले भने,‘करिब एक करोडको लागतमा सडकको मर्मत कार्य गरिने छ ।’ पटके मर्मत खाल्टा खुल्टी पुर्नेे कार्य माघ मसान्तसम्म सक्ने गरी श्रेष्ठ निर्माण सेवा पाल्पासँग सम्झौता भएको छ । करिब ३५ लाखको लागतमा पटके मर्मतको काम हुने सूचना अधिकारी नेपालले बताए । त्यस्तै विशेष मर्मत (ढलान, कालोपत्रे)को कार्य चैत्र मसान्तसम्म सक्ने गरी द लुम्विनी निर्माण सेवा रुपन्देही र सडक डिभिजन कार्यलयसँग सम्झौता भएको छ । विशेष मर्मतका लागि करिब ६० लाख बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । केराबारीदेखि चिडिया खोला र झुम्सा, दोभान बीचको सडक खण्डमा ढलानको काम ५० प्रतिशत सकिएको प्राविधिक तथा सूचना अधिकारी नेपालले जानकारी दिए । सडकको जोखिम यूक्त क्षेत्रमा सुरुङ्गमार्ग र बाँकी ठाउँमा मर्मत संभारको कार्य हुन लागेपछि जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधरण उत्साहित भएका छन् । हाल झुम्सादेखि दोभान खण्डका केहि ठाउँमा एकातर्फ मर्मत अर्को तर्फको खुला गरेर काम भइरहेको छ । विशेष मर्मत अन्तर्गत १ सय २५ मिटर सडकमा ढलानको कार्य सकिएको छ । त्यस्तै पटके मर्मत अन्तर्गत झुम्सादेखि दोभानसम्मको ४ किलोमिटर सडकको काम अन्तिम चरणमा पुगेको प्राविधिकहरु बताउँछन् ।

मर्मत कार्य भइरहँदा दश मिनेट एका तर्फको सवारी साधन रोकि पढाउने गरिएको छ । जस्का कारण यस सडक खण्ड हुँदै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका जिल्ला जाने सयौं सवारी साधनहरु थुप्रिने गर्दछन् ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update