Shittalpati
शिक्षकलाई तालिम

पाल्पा । शिक्षकको पेशागत विकासका लागि तानसेनमा तालिम कार्यशाला सञ्चालन भएको छ । लुम्बिनी प्रदेश शिक्षा तालिम केन्द्र रुपन्देहीको आयोजनामा शुक्रबारदेखि तालिम सञ्चालन भएको हो । तालिमको तालिम प्रमुख यमबहादुर केसीले उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै केसीले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि र वृत्ति विकासमा सहयोग पुग्ने गरी शिक्षा सम्बन्धी ऐन कानुनमा व्यवस्था भए अनुसार शिक्षकको पेशागत विकास (टिपिडि) तालिम सञ्चालन गरिएको बताए । चालु आर्थिक वर्षमा करिव ३५ सय शिक्षकलाई तालिम दिने कार्यक्रम प्रदेश तालिम केन्द्र लुम्बिनीमा रहेको उनले बताए ।

विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले शिक्षकको क्षमता अभिवृद्धिका लागि तालिम महत्वपूर्ण रहने बताए । उनले विद्यार्थीको नतिजा सुधारका लागि सबैको भूमिका रहेको बताउँदै तालिममा सिकेका सीपलाई कक्षाकोठासम्म पुर्‍याउन आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा प्रशिक्षक गोपालप्रसाद बस्यालले टिपिडि तालिमको ढाँचा, दश दिने तालिम कार्यशालाको विषयवस्तु र मूल्याड्ढन बारे जानकारी गराएका छन् । तालिममा पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका २७ जना निम्न माध्यमिक तहका अंग्रेजी विषय शिक्षकहरूको सहभागिता रहेको छ । दश दिनसम्म सञ्चालन हुने तालिमको प्रशिक्षक गोपालप्रसाद बस्याल, होमराज खड्का, कृष्णबहादुर मल्ल र हरिप्रसाद घिमिरेले सहजीकरण गर्ने सुरेश बुद्धाचार्यले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update