रामचन्द्र रायमाझी
पाल्पा । पाल्पा जिल्ला पूर्वपश्चिम राजमार्गसँग जोडिने भएको छ । गजेन्द्रमोक्ष, दुम्किबास–पाल्पा सडक खण्ड निर्माण भएपछि पाल्पा पूर्वपश्चिम राजमार्गसँग जोडिने भएको हो ।
यस सडक खण्ड गण्डकी प्रदेशको नवलपरासी (पूर्व) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका १ त्रिवेणी चोकबाट सुरु भई प्रदेश पाँचको पाल्पा जिल्लाको पकलुवा(बाँसटारी) सम्म निर्माण हुनेछ । संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फतबजेट विनियोजन भई गजेन्द्रमोक्ष, दुम्किबास–पाल्पा सडक खण्डको अहिले वातावरणीय प्रभाव मूल्याड्ढन (ईआइए) को काम अगाडि बढेको छ । मन्त्रालयले यस वर्ष ६ करोड रकम विनियोजन गरी काम अगाडि बढाएको हो । ईआरएमसी/जिईसी/इआरएमसीएस जेभी काठमाडौंले नवलपरासी र पाल्पामा सार्वजनिक सुनुवाई कार्यक्रम गरी ईआइएका लागि आवश्यक काम अगाडि बढाएको छ । क्षेत्र निर्धारण र कार्य सूची स्वीकृत गरी पाल्पा र नवलपरासीमा सार्वजनिक सुनुवाई गरी ईआइएको तयारी अन्तिम चरणमा पु¥याइएको वातावरण विद् राजकुमार दुलालले जानकारी दिए ।
स्थानीयहरुबाट आएका ईआइएका लागि राय सुझाव संकलन गरी वन तथा वातावरण मन्त्रालयको सहसचिव स्तरीय निर्णयबाट स्वीकृत भई निर्माणका लागि थप बजेट विनियोजन भई काम अगाडि बढ्ने वातावरण विद् दुलालले बताए । आयोजना निर्माणका लागि २ अर्ब, ७२ करोड, ८० लाख ४१ हजार, ४ सय लागत लाग्ने सडक विभागको योजना तथा वातावरणीय मूल्याड्ढन शाखाले जनाएको छ ।
६८ किलो मिटर लम्बाई रहेको यस सडक खण्ड नवलपरासी जिल्लाको गजेन्द्रमोक्ष, बहुवन, ज्यामिरे, दुम्किवास, चपारी, कोल्टारी, बगैचा र पाल्पा जिल्लाको बाँसटारी, झडेवा, गोठादी रहवास, ओखरीगैडा हुँदै पकलुवा सम्म जाने छ । सडकको दायाँबायाँ १५ मिटर र नालासहित ११ मिटर रहने गरी सडक निर्माण गरिने प्रस्तावकका रुपमा रहेको सडक विभागको भू–वातावरण तथा सामाजिक शाखा काठमाडौंले जनाएको छ ।
यो सडक निर्माणसंगै नवलपरासी र पाल्पाको औधोगिक तथा पर्यटकीय क्षेत्रको विकास हुने भएकाले स्थानीयहरु खुसी भएका छन् । योजना निर्माणका लागि पाल्पाको माथागढी गाउँपालिका ४ झडेवामा भएको सार्वजनिक कार्यक्रमका सहभागीहरुले वातावरणीय प्रभाव मूल्याड्ढनमा भएका केही कमी कमजोरीहरुलाई न्यूनिकरण गर्दै छिटो भन्दा छिटो सडक निर्माण गर्नुपर्ने बताएका छन् । उनीहरुले निजी तथा सार्वजनिक सम्पत्तिको क्षतिपूर्तिको मूल्याड्ढन उचित ढङ्गले स्थानीय तहसँग समन्यव गर्नुपर्ने, वनजंगल भित्र सडक स्तरन्नोती गर्दा पानीका मुहानहरुको संरक्षण गर्दै वातावरण र वन्यजन्तु मैत्री सडक निर्माण गर्नुपर्ने, सडक निर्माण गर्दा सीपको आधारमा रोजगारीमा प्रथमिकता दिनुपर्ने, स्थानीय स्रोत, साधनको अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन् ।
सडक निर्माण भएसँगै पाल्पा जिल्ला पूर्वपश्चिम राजमार्गसँग कनेक्सन हुने हुँदा यहाँको पर्यटन, उद्योग, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकास हुनेमा आफुहरु विश्वास्त रहेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने ‘यो सडक नारायणगढ, मुग्लिन सडक र बुटवल तानसेन सडक खण्डको विकल्पका रुपमा समेत प्रयोग हुने हुँदा यस क्षेत्रका स्थानीयहरुमा सहज हुनेछ ।’ वातावरण विद् राजकुमार दुलाल र दिपक चौलागाईले सार्वजनिक सुनुवाई कार्यक्रममा वातावरणीय प्रभाव मूल्याड्ढन प्रतिवेदनमा भएका विषयहरुको जानकारी गराएका थिए ।