Shittalpati
तथ्याङ्कलाई विश्वासनीय बनाउनुपर्नेमा जोड

रमेश विश्वकर्मा
गुल्मी । तथ्याङ्कलाई विश्वासनीय र तथ्यपूर्ण बनाउनुपर्नेमा जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
तथ्याङ्क कार्यालय पाल्पाको आयोजनामा राष्ट्रिय जनगणना २०७८ को तयारीका विषयमा भएको जिल्लास्तरीय अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले गणनाबाट प्राप्त हुने तथ्याङ्कलाई विश्वासनीय बनाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले तथ्याङ्कले नै समृद्धिको खाका कोरिने भएकाले गणनालाई विश्वसनीय र तथ्यपूर्ण बनाउनुपर्नेमा जोड दिए ।

जिल्लाका जनप्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा लगत सङ्कलन गलत हुँदा समग्र विकासको शैलीमा नै प्रभाव पार्ने बताएका छन् । संविधानको विशेषता नै समावेशिता भएकाले अब गरिने गणनाले अर्थपूर्ण महत्व राख्ने उल्लेख गरिएको छ । सहभागीले जनगणनालाई सफल बनाउन सबैको महत्वपूर्ण भूमिका रहने बताए । नागरिक समाजका जिल्ला संयोजक पदम प्रसाद पाण्डेले यस अघिका गणनामा गलत तथ्य पनि देखिकाले यसतर्फ सचेत बन्न आग्रह गरे । कालिगण्डकी गाउँपालिकाका थम्मनसिं आलेले जनगणना नदोहोरिने गरी काम गर्न गणकलाई आग्रह गरे ।
तथ्याङ्क कार्यालय पाल्पाका निमित्त प्रमुख लेखनाथ पाण्डेले जनगणनालाई तथ्यपूर्ण बनाउन सचेतना अपनाइने बताए । पाण्डेले कार्यक्रमबाट प्राप्त सुझाव तथा गुनासाँहरुलाई केन्द्रीय तथ्याङ्क विभागमा लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले जनगणनाको परिचय, इतिहास, जनगणनाको महत्व, जनगणना प्रयोग गरिने विधिका विषयमा जानकारी गराएका थिए । रेसुङ्गा नगरपालिका नगर प्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको अध्यक्षता, रामनारायण वाग्लेको सञ्चालनमा कार्यक्रम भएको थियो । जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जिल्लाका १२ वटै स्थानीयतहका जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, जिल्लास्थित क्रियाशिल पत्रकार लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update