
गुल्मी । सरकारले नागरिकलाई अनेक थरी परिचय पत्र बोक्नुपर्ने झन्झटबाट मुक्त गराउन परिचय पत्र वितरण कार्यक्रम ल्याएसँगै गुल्मीमा पनि यस कार्यक्रमले तिव्रता पाएको छ । जिल्लाका १२ वटै स्थानीय तहमा अहिले राष्ट्रिय परिचय पत्र वितरणका लागि दर्ता संकलन कार्यले तिव्रता पाएको हो ।
दुई वटा स्थानीय तहले भने दर्ता संकलन कार्य सकेका छन् भने अन्यले जारी राखेका छन् । गुल्मी दरबार गाउँपालिका र धुर्कोट गाउँपालिकामा दर्ता संकलन कार्य सकिएको हो । जिल्ला दर्ता संकलन कर्तामार्फत स्थानीय तहमा राखिएका शिविरबाट राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्य अगाडि बढेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । गुल्मी दरबार गाउँपालिकामा ११ हजार ९ सय ५ जनाको विवरण दर्ता संकलन गरिएको जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । त्यस्तै उनका अनुसार धुर्कोट गाउँपालिकामा १० हजार ७ सय ७० जनाको विवरण दर्ता संकलन गरिएको छ । अभियान अन्तर्गत मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका र मदाने गाउँपालिकामा दर्ता संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्यलाई अगाडि बढाउन ६० जनादर्ता संकलनकर्ता खटाइएको प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए । संकलन कार्यका लागि एउटा स्थानीय तहमा १५ दिनसम्म संकलन गरिने छ । राष्ट्रिय परिचय पत्रले नागरिकलाई राज्यबाट हुने सेवा सुविधा सहज रुपमा प्राप्त गर्नका लागि प्रयोग गरिने आधारभूत पहिचान भएको परिचय पत्र हो ।