कृष्ण पोखरेल
पाल्पा । विश्वभर फैलिएको कोरोना महामारीका कारण कुखुरापालन व्यवसायी समेत थला परेको छ । महामारीका कारण कुखुराको मासुको खपत नहुनु र महङ्गो मूल्यमा चल्ला र दाना किनेर सस्तोमा कुखुरा विक्री गर्नुपर्दा उठ्नै नसक्ने गरी कुखुरापालन व्यवसायी थला परेको हो । कोरोना भाइरसको त्रास भन्दा पनि व्यवसाय उठ्नै नसक्ने गरी धरासायी भएपछि पाल्पाका कुखुरापालकहरु पिरोलिएका छन् । कुखुरा पालन व्यवसायमा राम्रो आम्दानी देखेर कुखुरा पालनमा लागेका जिल्लाका युवाहरु अहिले निरास भएका छन् । अधिकांश विदेशबाट फर्किएका र स्वदेशका युवाहरुको आर्कषणको व्यवसाय बन्दै आएको कुखुरा पालन व्यवसाय कोरोना संक्रमणका कारण थला पर्दै गएको हो । कोरोना संक्रमणको जोखिम दिनहुँ बढ्दै गएकाले कुखुराको मासुको खपत दिनहुँ घट्दै गएको छ । दसैँ जस्ता महान चाडपर्वमा समेत कुखुराको मासु खपतमा वृद्धि नभएपछि कुखुरापालक व्यवसायी मर्कामा परेका छन् । कोरोनाको कारण पर्याप्त चल्ला तथा दाना नभएको भन्दै दाना उत्पादक कम्पनीहरुले मूल्य बढाएका छन् । कखुरापालक व्यवसायीहरुले महोमा चल्ला र दाना किनेर सस्तोमा कुखुरा विक्री गर्नुपर्ने बाध्यता आईपरेको छ ।
पाल्पाका विभिन्न शहरदेखि गाउँ–गाउँसम्म अण्डाका लागि लेयर्स, पाकिस्तानी लोक्कल, कोइलर, मासुका लागि गिरिराज, बोइलर जातका कुखुरा पालन हुँदै आएको छ । मासुका लागि पालिएको बोइलर कुखुरा ४० दिनमा तयार हुन्छ । ४१ दिनपछि फार्ममा कुखुरा राख्नु भनेको व्यवसाय घाटामा जानु हो, त्यसैले प्रशस्त मात्रामा मासु खपत नहुँदा आफुहरुले कुखुरा सस्तोमा बेच्न बाध्य भएको तानसेन नगरपालिका ९ का कुखुरापालक गोविन्द भण्डारी बताउँछन् । कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भएको पाल्पामा साना, ठूला एक हजार भन्दा बढी कुखुरापालन फार्महरु सञ्चालनमा रहेका छन् । यहाँ कुखुरापालन व्यवसायबाट प्रत्यक्ष रुपमा एक हजार भन्दा व्यक्तिले रोजगारी पाएका छन् । कुखुरापालन व्यवसायमा राम्रो आम्दानी हुने देखेर युवाहरुले करोडौ रुपैयाँ लगानी गरेका छन् ।
किसानहरुले एक सय रुपैयाँ देखी एक सय पचास रुपैयाँ सम्ममा जिउँदो कुखुरा विक्री गर्दै आएका छन् । बैंकबाट कर्जा लिई व्यवसाय गर्दै आएका व्यबसायीहरुका लागि व्याज समेत तिर्न धौँ–धौँ भएको व्यवसायीहरुले बताएका छन् । यो अवस्थाले लगानी नै डुब्ने अवस्थामा पुगेको कुखुरापालक नारायण प्रसाद पाण्डेले बताए । युवाहरुको आर्कषणको केन्द्र मानिएको कुखुरा पालन व्यबसाय दिनहु ओरालो लागेपछि पाल्पाली युवाहरु चिन्तित भएका छन् । जसको कारण एकातिर रोजगारी गुमेको छ भने अर्काे तिर ऋण प्रवाह गरेका बैंकहरुले समेत समयमा किस्ता पाउन सकेका छैनन् । कोभिड १९ ले कुखुरा पालन गर्ने व्यवसायीलाई यस वर्षको सुरुदेखि नै बजार खुम्चिदै जाँदा अप्ठारोमा पारेको छ । सबै भन्दा छिटो र राम्रो आम्दानी गर्ने सपना बुनेर कुखुरापालन व्यवसायीमा होमिएकाहरु यतिखेर निल्नु न ओकल्नुको अवस्थामा पुगेका छन् ।