Shittalpati
दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि, भएन अनुगमन

रामचन्द्र रायमाझी
पाल्पा । दसैँको मुखमा आएर दैनिक उपभोग्य वस्तु खाद्यान्नको मूल्य वृद्धि भएको छ । लकडाउनका कारण उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकाले मूल्य बढेर आएको होलसेल व्यापारीहरु बताउँछन् । अहिले बजारमा तेल, मैदा, आँटा, चिनी, चामल, प्याज लगायतका खाद्यवस्तुको मूल्य प्रतिकेजीमा ५ देखि ६० रूपैयाँसम्म बढेको छ । चाडपर्वको मुखमा खाद्यान्नको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तालाई परेको छ । दैनिक उपभोग्य भाउ उकालो लाग्दा सर्वसाधारणको दसैँ सोचेभन्दा बढी खर्च हुने देखिएको छ । विगत वर्षहरुका तुलनामा दैनिक उपभोग्य सामानको मूल्य चर्कदा सर्वसाधरण नागरिक मारमा पर्ने भएका हुन् । सरकारले आपूर्ति व्यवस्था सहज र सुपथ मूल्यको बनाउने बताइरहँदा बजार भाउ बढेको बढै छ । उपभोग्य सामानको मूल्य दसैँ आउन केही समय बाँकी छँदै वृद्धि गरेर व्यापारीले बठ्याई गरेका छन् । यस अघि ६० रुपैयाँमा पाइने प्याज प्रतिकेजी १ सय २० पुगेको तानसेनका खुद्रा व्यवसायी विष्णु गाहाले बताए । तेलमा पनि व्यापारीले मूल्यवृद्धि गरेका छन् । यस अघिप्रति लिटर १ सय ६० रुपैयाँमा पाईने तोरीको तेल अहिले बढेर १ सय ९० पुगेको छ । त्यस्तै भटमासको तेल प्रतिलिटर १ सय ६० बाट बढेर १ सय ७०, सनफ्लावर तेल प्रतिलिटर १ सय ६० बाट वृद्धि भएर १ सय ९०, धारा तेल प्रतिलिटर २ सय १० बाट बढेर २ सय ५० देखि २ सय ६० पुगेको छ ।

त्यस्तै व्यापारीले दालमा समेत भारी मूल्य वृद्धि गरेका छन् । उनीहरुले मसुरोको दाल प्रति केजी १ सय २० बाट बढाएर १ सय ३०, अडहर प्रतिकेजी १ सय ६ बाट बढाएर १ सय ७० पु¥याएका छन् । यस्तै चिनी प्रतिकेजी ८० बाट बढेर ८५ पुगेको छ । ठूला होलसेल व्यापारीले मूल्य बढाएकाले पनि मूल्य बढाउनु परेको खुद्रा व्यापारी गाहाको भनाइ छ । उनले भने, ‘खरिद मूल्य बढेर आएकाले स्थानीय बजारमा समेत त्यसको प्रत्यक्ष असर परेको हो ।’ ‘दसैँ लागे पनि ब्यापार छैन तर होलसेलले मूल्य बढाएका छन् हामी पनि मारमा परेका छौँ,’ व्यवसायी गाहाले भने । फ्याक्ट्रीमा ६ महिना अगाडि बनेको उत्पादनमा धेरै अधिकतम् खुद्रा मूल्य राखेर पछि विस्तारै होलसेलले मूल्य बढाउँदै लगेको साना व्यवसायीहरुको गुनासो छ ।
भएन अनुगमन :
दसैँ नजिकिएसँगै बजारमा महंगी बढेपनि सम्बन्धित निकायले भने मूल्य वृद्धि नियन्त्रणका लागि कुनै चासो दिएका छैनन् । बजारमा महँगी, कालाबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य अझै हुन सकेको छैन । व्यापारीले अचाक्ली मूल्य वृद्धि गरेको, म्याद नाघेका खाद्यवस्तु विक्री वितरण गर्नुका साथै कालाबजारी बढेको उपभोक्ताले गुनासा गरेपनि सम्बन्धित निकायले बजार अनुगमनप्रति चासो देखाएका छैनन् । सदरमुकाम तानसेनका अधिकांश पसलहरुमा मूल्य सूचि छैनन् जसका कारण व्यापारीहरुले उपभोक्तै पिच्छे फरक मूल्य लिने गरेका छन् । सदरमुकाम मात्र होइन जिल्लाका अन्य स्थानीय तहहरुमा रहेका बजारको अवस्था पनि उस्तै छ । बजारमा मूल्य सूची राखिएको छैन । दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली वृद्धि भएको छ । तर, यहाँका स्थानीय तहले बजार अनुगमन गरेका छैनन् । स्थानीय तहमा जनप्रतिनिधिले काम गर्न थालेको तीन वर्ष पुग्न लाग्दा समेत बजार अनुगमनमा स्थानीय तहको ध्यान जान सकेको छैन ।

उपभोक्ताको अधिकारलाई प्रभावकारी बनाउन हरेक स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम उपभोक्ता संरक्षण कार्यविधि र बजार अनुगमन निर्देशिका तयार पारी उपभोक्ताको हितमा कार्य गर्नुपर्ने हुन्छ । तर, त्यसतर्फ स्थानीय तहको ध्यान जान सकेको छ्रैन । संविधानको अनुसूचि ७ अनुसार संघ र प्रदेशको साझा अधिकार सूचीमा आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन उल्लेख छ । संविधानको अनुसूचि ९ ले स्थानीय बजार व्यवस्थापन स्थानीय तहको क्षेत्राधिकार भनी किटान गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पनि बजार अनुगमन स्थानीय तहले गर्ने भनी उल्लेख गरिएको छ । संघीय संरचना अनुसार बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको भएपनि स्थानीय तह बजार अनुगमनप्रति उदासीन देखिएका छन् । लकडाउनको फाइदा उठाउँदै दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि हुँदा समेत स्थानीय सरकार बेखवर छन् । स्थानीय तहबाट बजार अनुगमन नहुँदा व्यापारीहरुले उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update