
पाल्पा । नेपाल नागरिक समाज पाल्पाले विद्युत् अवरुद्धको कारण झुम्सा, कोरोना र वर्षातलाई मात्र नदेखाउन नेपाल विद्युत् प्राधिकरण वितरण शाखा पाल्पालाई आग्रह गरेको छ । पाल्पामा लाइन जान साथ वितरण शाखाले हरेक पटक झुम्सा, कोरोना र वर्षात्लाई कारण देखाउदै उम्कने गरेको भन्दै नागरिक समाजले अब त्यसको विकल्प खोज्न आग्रह गरेको छ । विद्युत् अनियमितता भएपछि आइतबार नेपाल नागरिक समाज डेलिगेशन गएको छ । नागरिक समाजले उज्यालो पाल्पा बनाउनका लागि विकल्प खोज्न विद्युत् कार्यालयलाई आग्रह गरेको छ । पाल्पाली जनता सधै बत्ति मुनिको अध्यारो जस्तै भएर बस्नु परेको भन्दै अब त्यस विकल्प खोज्नुपर्नेमा समाजले अनुरोध गरेको छ ।
समाज पाल्पाका अध्यक्ष पुष्करराज रेग्मीको नेतृत्वमा गएको केन्द्रीय सदस्य चिञ्जीवी ढुङ्गना, सल्लाहकार चित्रवलीराम सुवाल, सुदर्शन कोइराला, जगनाथ अर्याल, खड्क बहादुर कुंवर लगायतको टोलीले विद्युत् कार्यालयका प्रमुख सुशिल पौड्याललाई पाल्पाको विद्युत्को विकल्प खोज्न ध्यानाकर्षण गराएको हो । समाजले सेवाग्राहीलाई सहि सूचना प्रवाह गर्नुपर्ने, ग्राहकले गरेको फोन उठाउनुपर्ने, पाल्पालाई उज्यालो बनाउने विकल्प खोज्नुपर्ने, झुम्सा, कोरोना, र वर्षात् मात्रलाई विद्युत् अवरुद्धको कारण देखाउन नहुने माग गरेको छ । कार्यालयका प्रमुख पौड्यालले पहिरोका कारण अवरुद्ध बनेको विद्युत् मंगलबारदेखि नियमित हुने बताएको समाजका अध्यक्ष पुष्करराज रेग्मीले बताए । उनले जिल्लावासीले पटक–पटक विद्युत् अनियमितताको समस्या झेल्नुपर्ने बाध्यता रहेकाले त्यसको छिटो भन्दा छिटो विकल्प खोज्न विद्युत् कार्यालयको ध्यानाकर्षण गराउन डेलिगेशन गएको बताए ।