
पाल्पा । विश्वभर फैलिएको कोरोना महामारीका बिच दमकडा माध्यमिक विद्यालय तानसेनले भर्चुअलमार्फत जिल्लास्तरीय कविता प्रतियोगिता गरेको छ । विद्यालयले आफ्नो स्थापनाको ६४ औं वार्षिकोत्सवका अवसरमा भर्चुअलबाटै कविता प्रतियोगिता गरेको हो । प्रतियोगितामा मिलेनियम स्कुल तानसेनका महिमा गैरे प्रथम, जनता माध्यमिक विद्यालयकी सुजाता बस्याल दोस्रा, रत्नमाध्यमिक विद्यालय माथागढीका विशाल बि.क तेस्रा भएका छन् । सेन्ट क्यापितानियो स्कुल तानसेनका प्रसना नेपाली र दमकडा माध्यमिक विद्यालयकी सपना भण्डारीले शान्त्वना पुरस्कार प्राप्त गरेका छन् । जिल्लाका २४ विद्यालयका ३४ विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगिताको नेपाल प्रज्ञा प्रतिष्ठानका साहित्य विभागका प्रमुख डा.देवी नेपालले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मानव सम्भतामा मान्छेले कोहिल्यै नहार्ने बताएका छन् । उनले कोभिड वा अन्य कुनै समस्यामा पनि मान्छेले नहार्ने धारणा व्यक्त गरे । नेपालले सशक्त कविताका माध्यमबाट प्रतियोगिताले भाषा, साहित्य र वाङमयको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । छन्दोवद्ध साहित्यका ज्ञाता नेपालले वार्षिकोत्सवलाई कोरोनाले रोक्न नसकेको र शिक्षक, विद्यालय समस्या समाधान गर्ने महत्वपूर्ण साधन हुन् भन्ने सन्देश देशभर छर्न सफल बनेको बताए ।
प्रदेशसभा सदस्य डा. पुरनमान बज्राचार्यलले दमकडा मावि जिल्ला र प्रदेशकै गौरवको विद्यालय बनेको बताए । प्रतियोगिताका मूल्यांकनकर्ता साहित्यकार टंक पन्थले विद्यार्थीहरुले भावना, विचार र कलाको संयोजन गरी समाजमा देखापरेका मानवीय अस्तित्व र मूल्यमान्यतालाई उजागर गरेको बताए । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामप्रसाद ढकाल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष धनकला गाहा, प्याब्सनकापूर्व केन्द्रीय सदस्य खेम सारु लगायतले कोभिडको असहज परिस्थितिमा पनि नविनतम कार्य गरेर दमकडाले समाजमा राम्रो छवि बनाएको बताए । विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले विद्यार्थीको सिकाई सीप र सिर्जनशीलता बढाउन कविता प्रयोगिताको आयोजना गरेको बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षता, होत्रीराज ढुंगानको स्वागत, शिक्षक प्रकाश पंगेनी, धनपति गैरे, संगीता भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।