Shittalpati
मालिका गाउँ सरकारको युवा लक्षित कार्यक्रम, व्यवसायिक कर्जाका लागि ब्याज अनुदान

रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको एक स्थानीय सरकारले कोभिडका कारण रोजगार गुमाएका युवाहरूको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन सातलाख रुपैयाँसम्मको ऋणमा ब्याज अनुदान दिने भएको छ । मालिका गाउँपालिकाले कोराना भाइरस (कोभिड–१९) का कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका उद्यमशिल युवाहरुलाई लक्षित गरेर व्यवसायिक ऋणको लागि ब्याज अनुदान दिने भएको हो ।

रोजगार गुमाएका भारत लगायत तेस्रो मुलुकबाट असार मसान्तसम्म ५ सय ४७ जना नागरिक मालिका गाउँपालिकामा भित्रिएका छन् । उनीहरुलाई लक्षित गरी गाउँपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिने गरी योजना अगाडि सारेको छ । कोरोना भाइरस (कोभिड–१९) ले रोजगारी गुमाएर फर्किएका, नेपालमै पनि रोजगार गुमाएका, स्थानीय बेरोजगार, विदेश जान तयार रहेका र स्वदेश मै केही गर्न चाहने युवाहरुका लागि गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए । उनका अनुसार युवाहरुलाई गाउँमै उद्यमशील बनाउने उद्देश्यले ५० हजारदेखि ७ लाखसम्म सहुलियत पूर्ण ऋण गाउँपालिकाले उपलब्ध गराउने भएको हो । त्यसको ब्याज गाउँपालिकाले नै तिरिदिने अर्थात् निःशुल्क ब्याजको रुपमा ऋण उपलब्ध गराउने कार्यक्रम व्यवसायिक ऋण प्रवाह सम्बन्धी कार्यविधिमार्फत गाउँपालिकाले असोज १ गतेदेखि सञ्चालन गर्न लागेको छ ।

दीपक भण्डारी
प्रमुख प्रशासकीय अधिकृत
युवाहरुलाई गाउँमै उद्यमशील बनाउने उद्देश्यले ५० हजारदेखि ७ लाखसम्म सहुलियत पूर्ण ऋण गाउँपालिकाले उपलब्ध गराउने भएको छ । त्यसको ब्याज गाउँपालिकाले नै तिरिदिने अर्थात् निःशुल्क ब्याजको रुपमा ऋण उपलब्ध गराउने कार्यक्रम व्यवसायिक ऋण प्रवाह सम्बन्धी कार्यविधि मार्फत गाउँपालिकाले असोज १ गतेदेखि सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाको कारेबार रहेको बैंक बैंक अफ काठमाडौंसँगको साझेदारीमा सञ्चालन गरिएको यो कार्यक्रममा ऋण बैंकले प्रवाह गर्दछ भने त्यो ऋण बापतको ब्याज गाउँपालिकाले तिर्ने बताइएको छ । अहिलेसम्म गाउँपालिकाका आठ वटै वडाबाट झण्डै तीन सय ९० जना युवाहरुले ऋणको लागि निवेदन दिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । उनले भने, ‘यो ऋण लिन चाहने युवाहरु महिला पुरुष दुवैलाई प्राथमिकता दिइएको छ । त्यसमा पनि महिलाहरुलाई उद्यमशिल हुने प्रेरणा मिलोस् भनेर ब्याजमा थप सहुलियत दिने बारे बैंकसँग सम्झैता भएको छ ।’ यस कार्यक्रममा १८ देखि ६० वर्ष उमेर समूहलाई समेटिने छ । ऋण लिएको ३ वर्षभित्र किस्ता किस्तामा रकम फिर्ता गर्नुपर्नेछ । गाउँपालिकाले कृषि, पशुपालन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर सहुलियत ऋण दिनेछ । यस कार्यक्रमबाट युवाहरु गाउँमै स्वरोजगार बन्ने, कृषि उपजको अभाव नहँुने र सबै युवाहरु उत्पादशिल क्षेत्रमा खटिने विश्वास रहेको गाउँपालिका अध्यक्ष रितबहादुर थापाले बताए । उनले भने, ‘हाम्रो मुख्य उद्देश्य कृषिलाई व्यवसायिकरण, औद्योगिक क्षेत्रको प्रर्वद्धन, युवालाई गाउँ मै रोजगार दिने र गाउँपालिकालाई समृद्धतर्फ लैजाने हो, यसले विगतमा सञ्चलान गरेका कृषि सम्बन्धि कार्यक्रमहरुलाई टेवा पुग्ने छ ।’

गाउँपालिकाले कृषकहरुको लागि नयाँ–नयाँ कार्यहरु गर्दै आएको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम लागु गरेको थियो । यो कार्यक्रमबाट गाउँपालिका भित्रका कृषकहरु निकै उत्साहित देखिएका थिए । कुखुरा र बाख्राको मासुका लागि उत्पादन गरेर सहकारी मार्फत विक्री गरिएमा गाउँपालिकाले एक सय किलोग्राम बाख्रा र बोकाहरु उत्पादन गरेको कृषकलाई प्रति किलोग्राम एक सय रुपैयाँका दरले कृषकहरुलाई अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । उनका अनुसार यो कार्यक्रममा झण्डै २४ लाख अनुदान वितरण गरिएको हो । एउटा घरपरिवारले ३० हजारसम्म अनुदान प्राप्त गरेका थिए । यस कार्यक्रमबाट कृषकहरुलाई बाख्रापालनमा प्रेरणा मिलेको छ । यो कार्यक्रम विशेष गरी अर्जे, मरभुङ्ग, छापहिले, घमिर लगायतका स्थानका कृषकहरु बढी आकर्षित भएका छन्, भने अन्य स्थानका कृषकहरुमा पनि आकर्षण बढेको अध्यक्ष थापाले बताए । गाउँपालिकाले गैरसरकारी संस्थासँगको साझेदारीमा बाख्रा विकास साझेदारी कार्यक्रम पनि सञ्चालन गरेको थियो । यो कार्यक्रम गाउँपालिकाको वडा ४, ५, ६, ७ र ८ मा सञ्चालन भएको थियो । गाउँपालिकाले कृषकहरुलाई लक्षित गरेर टनेल, करेसाबारी, मल बीउ समेत वितरण गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update