
रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा जातीय विभेद तथा छुवाछुत मुद्दाको फैसला भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको फोक्सिङमा भएको जातीय विभेद तथा छुवाछुतको जिल्ला अदालत गुल्मीद्धारा फैसला भएको हो । पीडितले छुवाछुत तथा जातीय विभेद सम्वन्धि जाहेरी दर्ता गरेको दुई महिना पछि जिल्ला अदालतका न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले फैसला गरेको छ । जिल्ला अदालतले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेद्भाव (कसुर सजाय) ऐन २०६८ को दफा ४(२) को खण्ड (क) र (ख) को कसुर अपराधमा सोही ऐनको दफा ७ (१) क बमोजिम पीडक कालीगण्डकी गाउँपालिका–५ फोक्सिङका नेत्र बहादुर काउछालाई ३ महिना कैद र ५० हजार जरिवाना गरेको छ । सोही ऐनको दफा ९(१) बमोजिम निज प्रतिवादी काउछबाट पीडित जाहेरवाला कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ देउरालीका पीडित श्याम बहादुर नेपालीले १० हजार नगद पाउने ठहर गरेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार उप–सचिव भीमप्रसाद भुसालले बताए ।
दुई महिना अगाडि दलित समुदायका श्याम बहादुर नेपालीलाई सोहीस्थानका गैरदलित नेत्र बहादुर काउछाको घरमा पसेको भन्दै स्थानीय बसेर जरिवाना गराएका थिए । काउछाको घरमा ओत लागेकै भरमा नेपालीलाई जरिवाना गराइएको थियो । काउछा परिवारले दलित भएर पनि ठूलो जातको घर छोएको र घरभित्र पसेको भन्दै श्याम परियार र उनका बुवा धनबहादुर परियारलाइ समेत हातपात गरेका थिए । उक्त घटनाका पीडक काउछा विरुद्ध जातीय भेदभाव तथा छुवाछूत, कसुर र सजाय, ऐन अनुसार जाहेरी दर्ता भएको थियो ।