Shittalpati
अनलाइन वक्तृत्वकलामा रामतुल्सीकी रविना विजयी

पाल्पा । जिल्लास्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगितामा रामतुल्सी मावि रामपुरकी रविना ढकाल विजयी भएकी छिन् । ‘कोरोना कहर, हाम्रो शिक्षा र सरोकारवालाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरुलाई उछिन्दै रविना विजय भएकी हुन् । प्रतियोगितामा सेन मावि तानसेनका सविन ज्ञवाली द्वितीय, जनता मावि तानसेनकी सदिक्षा ढकाल तृतीय, दमकडा मावि दमकडाकी विनिता पराजुली र सृजना आधारभूत विद्यालय तिनाउकी सुस्मा रुचालले सान्त्वना स्थान हासिल गरेका छन् । कार्यक्रममा रुम टु रिड नेपालका कार्यक्रम अधिकृत ओमकुमार श्रेष्ठले कोरोना भइरसका कारण उत्पन्न परिस्थितिले अनलाइन माध्यमबाट प्रतियोगिता सञ्चालन गर्नुपरेको तर विद्यार्थीहरुको सहभागिता उत्साहजनक रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले सहभागीहरुका लागि शुभकामना मन्तव्य दिदै कोरोना भाइसरका कारण शिक्षा क्षेत्रमा नराम्रो असर परेको बताए । कोरोना भाइरसका कारण शैक्षिक क्षेत्रहरु बन्द भएको अवस्थामा विद्यार्थीहरुलाई सृजनात्मक बनाउन यस्ता प्रतियोगिताहरुले सहयोग पु¥याउने इकाई प्रमुख पौडेलले बताए । प्रतियोगितामा जिल्लाका सामुदायिक, निजी तथा आवासीय विद्यालयको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान पाल्पा, रुम टु रिड नेपाल र बेस नेपालको संयुक्त आयोजना र शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको समन्वयमा भएको थियो । प्रतियोगितामा गोपालप्रसाद बस्यालको संयोजकत्वमा तीन जनाको निर्णयक मण्डलले निर्णय गरेका थिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला संयोजक शालिकराम पाण्डेको अध्यक्षता र बेस नेपाल साक्षरता कार्यक्रम संयोजक प्रकाश पाण्डेको सञ्चालन कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update