Shittalpati
पाल्पामा पनि सरस्वतीको पूजा गरी श्रीपञ्चमी पर्व मनाइयो


पाल्पा, विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा आराधना गर्दै विहिबार पाल्पामा पनि श्रीपञ्चमी पर्व मनाइएको छ । यस दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराए । सरस्वतीको पूजा आराधना गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने भन्ने जनविश्वास रहँदै आएको छ । सोही अवसरमा जिल्लाका विभिन्न विद्यालयहरुमा नयाँ बालबालिकाहरुलाई सरस्वतीको पूजासँगै अक्षराम्भ गराइएको छ ।

तानसेनमा रहेको पाल्पा प्यारागन बोडिङ्ग स्कूलले नयाँ बालबालिकाहरुलाई अक्षरारम्भ गराएको छ । २ वर्षदेखि ६ वर्ष उमेर सम्मका बालबालिकाहरुलाई अक्षराम्भ सँगै प्रसादग्रण गराएको हो । विद्यालयको मन्टेश्वरीमा भर्ना हुन आएका १५ जना नयाँ बालबालिकाहरुलाई अक्षराम्भ गराएको विद्यालयका प्रिन्सिपल गंगाबहादुर खत्रीले बताए । बालबालिकालाई कापी, पाटी र ल्यावटवमा लेख्न सिकाएर अक्षरारम्भ गराइएको थियो ।

त्यस्तै तानसेन ९ दमकडामा रहेको दमकडा नमूना माध्यमिक विद्यालयले पनि नयाँ बालबालिकाहरुलाई अक्षरारम्भ गराएको छ । विद्यालय आउन सुरु गरेका साना बालबालिकालाई अक्षरारम्भ गराइएको विद्यालयका प्राथमिकतह संयोजक जीवन आचार्यले बताए । विद्यालयले मन्टेश्वरी कक्षामा भर्ना हुन आएका करिव २५ जना बालबालिकालाई ठूलो वर्णमाला, कापी, कलम, झोला र टिफिन बक्स प्रदान गरेको छ । सोही अवसरमा शिक्षाविद् राधाकृष्ण शर्माले श्रीपञ्चमीका दिन सरस्वती पूजा गराएर नयाँ कुरा सिक्ने वातावरण प्रदान गरेर विद्यालयले सबै अभिभावकको प्रशंसा पाएको बताए । उनले भने ‘शिक्षा, संस्कार र संस्कृति हरेक नागरिकले सिक्नै पर्नै कुरा हुन्, यस्ता कुरा घर र विद्यालयबाट सिकाउनु पर्दछ ।’

कार्यक्रममा अभिभावक भगवती पराजुली, विद्यालयका प्रअ मोहनप्रसाद सापकोटा लगायतले नयाँ बालबालिकाहरुलाई अक्षर चिन्न श्रीपञ्चमी महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । विद्यालयले मन्टेश्वरी कक्षाका लागि मन्टेश्वरी शिक्षकको व्यवस्था गर्नुको साथै दृष्टिविहीन बालबालिकाहरुका लागि ब्रेल लिपीबाट मा पठनपाठन गराउनुको साथै विज्ञान, व्यवस्थापन र सिभिलइन्जिनियरिङ विषयका कक्षा समेत सञ्चालन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार अर्यालले बताए । यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास रहिआएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update