Shittalpati
रामपुर नगरपालिकाद्वारा लोक सेवा तयारी कक्षा सञ्चालन

इमान सिं राना

पाल्पा(रामपुर)

जिल्लाको रामपुर नगपालिकाले एक महिने लोकसेवा आयोग तयारी कक्षा सुरु गरेको छ । नगरभित्रका युवाहरुलाई निजामती सेवामा आकर्षित गर्ने उद्देश्यका साथ लोक सेवा आयोग अन्तर्गत नायब सुब्बाको प्रथम पत्र तयारी कक्षा सुरु गरेको हो । नगरपालिकाले सहीद बहुमुखी क्याम्पस रामपुरमा कक्षा सुरु गरेको हो । तयारी कक्षाको बुधबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।

कक्षाको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले युवाहरुलाई रोजगारीका लागि योग्य र दक्ष बनाउन नगरपालिकाले कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले पछिल्लो समय रोजगारी खुल्दा दरखास्त दिनेको संख्या धेरै भए पनि क्षमता अभिवृद्धिमा ध्यान दिनेको संख्या न्यून रहेको बताए । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले नगरपालिकाले उत्साह जगाउने कार्यक्रमसंगै केही गर्ने प्रतिज्ञा गरेका व्यक्तिहरुलाई आवश्यक ज्ञान र सीप प्रदान गर्दै आएको बताए । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बाबुराम अर्यालले कक्षा सञ्चालनको उद्देश्य माथि प्रकाश पारेका थिए ।

तयारी कक्षामा ५० जना भन्दा बढीको सहभागीता रहेको छ । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक कुमार आचार्य, रामपुर नगरपालिकाका लेखा अधिकृत रेणुराम ज्ञावली,अधिकृत युवराज पन्थी र रामपुर नगरपालिकाका रोजगार संयोजक निरज पोखरेल लगाएतले लोकसेवा सम्बन्धी शिक्षा दिइरहेका छन् । रामपुर नगरपालिकाका उपमेयर विष्णु देवी घिमिरे आचार्यको अध्यक्षता,रोजगार संयोजक निरज पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update