Shittalpati
पाल्पामा निषेधाज्ञाको पहिलो दिन सुनसान

रामचन्द्र रायमाझी
पाल्पा । कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पहिलो दिन शनिबार जिल्लाका मुख्य शहर तानसेन, रामपुर, हार्थोक, प्रभास लगायतका क्षेत्र सुनसान देखिएको छ । यस अघि सरकारले जारी गरेको लकडाउनको बेला जस्तै निषेधाज्ञाको समयमा पनि जिल्लामा सुनसान देखिएको हो ।

कोरोना संक्रमणको अवस्था भयावह हुन थालेपछि जिल्लामा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा लागु भएको छ । भदौ १२ गतेसम्म हुने निषेधाज्ञाको पहिलो दिन जिल्लाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा अत्यावाश्यक सवारी साधन बाहेक अन्य सवारी साधन गुडेका छैनन् । सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा मात्रै देखिएका छन् । निषेधाज्ञा उल्लघङ्न गरेर फाट्फुट्ट यात्रा गर्नेहरुलाई पनि तैनाथ सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर कारवाही गरेको देखिएको छ । नेपालमा संक्रमित Þवात्तै बढेपछि आवश्यक सावधानी अपनाउन पाल्पामा पनि शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा जारी गरिएको हो । कोरोनाले भयावह रुप लिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको छ । यो समयमा जिल्ला प्रशासनले अत्यावश्यक काम बाहेक घरबाहिर निस्किए कारबाही गर्ने जनाउँदै आएको छ । निषेधित क्षेत्र घोषणा गरेर मानिसलाई घरमै रोक्न सकेमा कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न सकिने भन्दै यो कदम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । उनले भने ‘यहाँ कोरोनाको संक्रमणको संख्यात्मक रुपमा भयावाह अवस्था सिर्जना नभएपनि छिमेकी जिल्लाहरुको अवस्था निकै नै भयानक भएकाले जिल्लालाई सुरक्षित राख्नका लागि पूर्व सर्तकता अपनाइएको हो ।’ निषेधज्ञाको पहिलो दिन अनावश्यक रूपमा घरबाहिर निस्किनेलाई सुरक्षाकर्मीले फुटपाथमै सम्झाई बुझाई गरेका थिए । निषेधाज्ञा लागू गराउन ठाउँ–ठाउँमा सुरक्षाकर्मी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । उनका अनुसार पहिलो दिन अत्यावश्यक कामबाहेक बाहिर निस्किनेलाई केही समय सम्झाई बुझाई छाड्ने गरिएको छ भने केही मोटरसाईकलहरु नियन्त्रणमा लिइएको छ ।

तानसेनमा अत्यावश्यक सेवाका पसलहरू बिहान मात्र खुलेका छन् भने मानिसहरू घर–घरमै बसेर निषेधाज्ञाको पालना गरिरहेका छन् । बिहीबार बसेको जिल्ला स्तरीय सर्वपक्षिय बैंठकले संक्रमण रोक्न खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सेवा र सवारी सञ्चालन एक साता बन्द गर्ने निर्णय गरेको थियो । अत्यावश्यक सेवा बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी सञ्चालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी सञ्चालन गर्न पाइने छैन । एम्बुलेन्स, शववाहन, खाद्यसामग्री बाहक सवारी साधन, औषधी बोकेका सवारी साधन, कुखुराको चल्ला, पशुपंक्षीको दाना बोकेका सवारी साधन, पानी, दूध, पेट्रोल ट्यांकर, फलफूल तथा तरकारी बोकेका सवारी साधन, झण्डा बाहक सवारी साधन, कुटनीतिक नियोगको सवारी साधनहरु चलाउन पाउने छ भने, सार्वजनिक यातायात (जस्तैः बस, ट्याक्सी, जीप लगायत), निजी सवारी साधन (चार पाङ्ग्रे, दुई पाङ्ग्रे) सवारी साधनहरु चलाउन रोक लगाइएको छ ।

त्यस्तै अत्यावश्यक सरकारी सेवा (स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी आदि), एटिएम काउन्टर जस्ता सेवाहरु खोल्न पाइने जनाइएको छ । अत्यावश्यक बाहेकका नियमित सेवा, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने बाÞय सेवाहरु, सामाजिक संघसस्थाका कार्यहरु खोल्न रोक लगाइएको छ । त्यस्तै औषधी तथा औषधीजन्य पसल, खाद्यान्न सम्बन्धी पसल, फलफूल, तरकारी दूध,डेरी पसल (विहान ७ :०० बजेदेखि १०ः०० बजेसम्म),पेट्रोल पम्प, ग्यास डिपो आदि व्यवायहरु खुल्न पाउने छन् भने, रेस्टुरेण्ट, ब्युटी पार्लर, कपडा पसल, शैलुन, जिमखाना, हार्डवेयर पसल, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल र उद्योग कलकारखाना खोल्नमा रोक लगाइएको छ । कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न गत चैत ११ गतेदेखि गरिएको चार महिने लकडाउन (बन्दाबन्दी) साउन ७ गते अन्त्य गरिएको थियो । तर, कोरोना संक्रमित झन् बढ्न थालेपछि अहिले निषेधाज्ञा गरिएको छ । सरकारी अधिकारीहरूले सार्वजनिक रूपमा संक्रमण अझै पनि नियन्त्रणमै रहेको दावी गरे पनि कोरोना संक्रमणका पछिल्ला तथ्यांकले स्थिति भयावहतर्फ उन्मूख भइरहेको देखाउँछ ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update