Shittalpati
प्रदेश र जिल्ला प्रहरी प्रमुखहरुबिच कार्यसम्पादन सम्झौता

पाल्पा । प्रदेश पाँचका प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरु बिच कार्यसम्पादन सम्झौता भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुक र प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय बाह्र तथा नेपाल प्रहरी स्कूल घोराही दाङ लगायतका १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरुसँग प्रदेश पाँचको प्रहरी कार्यालयमा कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको हो । सोही अवसरमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धानुकले उपस्थित मातहत कार्यालय प्रमुखहरुलाई कार्य सम्पादन सम्झौता अनुरुप काम गर्न निर्देशन दिए । उनले समाजको शान्ति सुरक्षाका लागि स्पष्ट कार्य योजनाका साथ आफू र मातहत प्रहरी इकाई तथा कर्मचारीहरुलाई पूर्ण लगनशील र प्रतिवद्धताका साथ परिचालन गर्न आग्रह गरे ।

प्रहरी प्रमुख धानुकले नागरिकको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध नियन्त्रणका साथै अपराध अनुसन्धान तथा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, आर्थिक अनुशासन र पारदर्शिता, मानव अधिकार संरक्षण र सामुदायिक केन्द्रीत प्रहरी कार्यहरुलाई मुख्य प्राथमिकता दिने कार्य गर्न समेत निर्देशन दिए । वर्षायामको समय रहेकाले प्राकृतिक रुपमा आईपर्ने विपद्को व्यवस्थापनको लागि उद्दार सामग्री सहित जनशक्तिलाई तयारी हालतमा राख्न समेत उनले जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिए । कोभिड–१९ महामारीको समय रहेकाले सदैव अग्रपंक्तिमा रहने नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउनको लागि मातहतका प्रहरी अधिकृतहरूलाई उनले आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update