Shittalpati
आजदेखि सबै सवारी पास बन्द

पाल्पा । सबै जिल्लाबाट सवारी पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले दिँदै आएको अन्तरजिल्ला सवारी पास गृह मन्त्रालयले रोक्न निर्देशन दिएसँगै आजदेखि पास वितरण कार्य बन्द भएको हो । बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरी गृहले बिहीबारदेखि नै सवारी पास वितरण रोक्न निर्देशन दिएको थियो । गृहले जारी गरेको परिपत्रमा कोभिड–१९ को उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म साउन २९ गतेदेखि लागू हुनेगरी वितरण नगर्नु, नगराउनु भनिएको छ ।

पाल्पा जिल्ला प्रशासन कार्यालयले पनि गृह मन्त्रालयको निर्देशनमा जिल्लाबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले अन्तर जिल्ला जाने सवारी साधनका लागि जारी गरिँदै आएको सवारी पास पूर्ण रूपमा बन्द गरिएको जनाएको छ । अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा पास बन्द गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड–१९ को संक्रमण बढ्दो छ । काठमाडौँ उपत्यकामा समेत दैनिक १०० जनाभन्दा बढी संक्रमण देखिएपछि प्रवेश नाकामा कडाइ गरिएको छ । अन्तरजिल्ला सवारी पास रद्द भएपनि बिरामी ल्याउन लैजानका लागि एम्बुलेन्स भने सञ्चालन गर्न पाइने छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update