
पाल्पा । जिल्लामा मास्क नलगाई घरबाहिर हिड्नेलाई प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालयले संक्रमण रोग ऐन २०२० र नेपाल सरकारले जारी गरेको लकडाउनको अवज्ञा गरी माक्स नलगाई हिड्डुल गर्ने ४३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको हो । प्रहरीले ९ जना महिला र ३४ जना पुरुषलाई मास्क नलगाई हिडेको भन्दै नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएकोमा एक सयका दरले जरिवाना गराई छाडेको छ । यस अघि पनि संक्रमण रोग ऐन २०२० र नेपाल सरकारले जारी गरेको लकडाउनको अवज्ञा गरी माक्स नलगाई हिडेका ५७ जना ब्यक्तिहरुलाई नियन्त्रण लिई कारवाही गरिएको थियो ।
गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएअनुसार जिल्ला प्रशासन कार्यालयले पनि कोरोना भाइरसबाट बच्न अनिवार्य मास्क र सामाजिक दुरी कायम राख्न जिल्लाका नागरिकलाई अनुरोध गर्दै आएको छ । प्रशासनले कोरोना भाइरसको जोखिम बढेको बेलामा मानिसले आवश्यक सुरक्षा नअपनाई बाहिर निस्कने, भीडभाग गर्ने जस्ता गतिबिधि बढेको भन्दै आवश्यक सुरक्षा व्यवस्था अपनाएर मात्र बाहिर निस्कनु पर्ने बताएको छ ।