Shittalpati
तिनाउका शिक्षकलाई अनिवार्य विद्यालय उपस्थित हुन निर्देशन

विष्णु पाण्डेय
पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा विद्यालय उपस्थित हुन निर्देशन दिएको छ । गाउँपालिका भित्रका प्रध्यानाध्यापकहरुको बैठकमा पालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका निर्देशक ओमबहादुर घर्ती मगरले शिक्षक कर्मचारीलाई अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन् । कोरोना महामारीका कारण लकडाउन भएपछि बन्द भएका विद्यालयहरुले केही समय टोल–टोलमा विद्यार्थी भेला गरी अनौपचारिक तवरले पढाई सञ्चालन गर्दै आएका थिए । तर केही शिक्षकहरु हालसम्म पनि विद्यालयमा अपस्थित नभएको गुनासो आएकाले उक्त निर्णय गरिएको अध्यक्ष घर्ती मगरले बताए । बैठकले पढाउन मिल्ने ठाँउमा दुरी कायम गरेर नियमित पढाई गर्ने र बढी विद्यार्थी भएका विद्यालयमा २ सिफ्ट गरी दुरी कायम गरेर पढाई सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

विद्यालयमा आउँदा विद्यार्थी र शिक्षकले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, विद्यालयमा साबुन, पानी र सेनिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ । आवश्यक स्वास्थ्य सामग्रीहरु गाउँपालिकाले नै उपलब्ध गराईदिनु पर्ने शिक्षकहरुले माग गरेका छन् । बैठकले शिक्षकहरुले श्रावण मसान्त भित्र सबै सम्पती विवरण पेश गर्नुपर्ने ,सबै कार्यसम्पादन मुल्याङकन एक महिनाभित्र गाउँपालिका कार्यालयमा पेश गर्नुपर्ने निर्णय गरेको छ । बैठकमा उपस्थित सम्पूर्ण प्रअहरुले आ–आफ्नो विद्यालयका गतिविधिका विषयमा जानकारी गराएका थिए । गाउँपालिका उपाध्यक्ष दयमन्ती थापा, प्रशासन शाखा प्रमुख यादव अर्याल, दोभान माविका प्रअ सूर्य पौडेल, मस्याम माविका प्रअ कृष्ण प्रसाद पाण्डेय लगाएतले आफ्ना धारणा राखेका थिए । सामाजिक विकास शाखाका संयोजक राजेश श्रेष्ठको अध्यक्षता, विद्यालय निरीक्षक लक्ष्मी कुवंरको सञ्चालनमा बैंठक भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update