
रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को गत साउन ५ गते भएको निर्णयले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नहुन्जेलसम्म सञ्चालन नगर्न भने पनि जिल्लामा केहि संस्थागत, सामुदायिक तथा क्याम्पसहरु सञ्चालन गरेको पाइएकाले शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण गरिएको लकडाउन खुलेपनि विद्यालयमा बढी भिडभाड हुने भएकोले कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै शैक्षिक संस्था नखोल्न नेपाल सरकारले नै अनुरोध गरेको हो । जिल्लामा सञ्चालित संस्थागत, सामुदायिक विद्यालय तथा क्याम्पसहरु कोचिङ्ग केन्द्र तथा ट्युसन केन्द्रको नाउँमा खोलिएको पाइएमा संक्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए ।