
पाल्पा, प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरवहादुर रानाले पहिरो प्रभावित क्षेत्रको अवलोकन सँगै पीडित परिवारलाई राहत वितरण गरेका छन् । सांसद रानाले जिल्लाको रिव्दीकोट गाउँपालिका वडा २ को हार्थोक बजार नजिकै गएको पहिरोको स्थलगत अवलोकनसँगै पीडित परिवारलाई राहत वितरण गरेका हुन् । पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्दै सांसद रानाले पहिरोका कारण सडक किनारमा अस्थायी ठेला निर्माण गरि व्यवसाय गर्दै आएका र स्थानीय वासिन्दालाई हार्थोक छहरा सडक खण्डमा गएको पहिरोका कारण समस्या परेकाले यस्ता समस्याको समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारको तर्फबाट तत्काल सडक निर्माण गर्नुका साथै जोखिममा परेका स्थानीय वासिन्दाका समस्या प्रति ध्यान दिनुपर्ने बताए ।
नेपाली काँग्रेस पाल्पाको तर्फबाट पहिरो पीडित सुर्य नेपाली र पार्वती पोख्रेललाई संकलित आर्थिक सहयोग समेत सांसद रानाले स्थलगत अवलोकन पछि हस्तान्तरण गरे । सो पहिरो अवलोकनमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
निरन्तर अविरल वर्षका कारण केही दिन अघि यस क्षेत्रमा पहिरो गएको थियो ।