Shittalpati
नेपाल भूपू सैनिक संघ पाल्पाले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

पाल्पा । नेपाल भुपु सैनिक संघ पाल्पाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताबाट भुुपु सैनिकलाई बञ्चित गर्ने गरेको निर्णय विभेदकारी भएको भन्दै संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । सोमबार संघका अध्यक्ष विष्णु गाहाको नेतृत्वमा गएका भूपुहरुले प्रमुख जिल्ला अधिकारी रमेश न्यापानेमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । संघले नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागद्वारा सामाजिक सुरक्षा ऐन २०७५ कार्यान्वयन गर्ने सम्बन्धमा सबै स्थानीय तहहरुलाई गरेको परिपत्र प्रति आफनो गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रजिअ न्यौपाने मार्फत ज्ञापनपत्र पठाएको हो ।

‘असार १७ गतेको मन्त्रीस्तरको निर्णयबाट सामाजिक सुरक्षा ऐन २०७५ को दफा १५ को खण्ड (ग) अनुसार नियमित पारिश्रमीक पाउने, निवृत्तिभरण, अवकास प्राप्त, अन्य सरकारी सुविधा पाइरहेका र विदेशी सरकारबाट नियमित रुपले निवृत्तिभरण प्राप्त गरिरहेका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था गरेकाले उक्त निर्णय न्याय संगत नभएको संघको ठहर रहेको छ’ ज्ञापनपत्रमा भनिएको छ ।

संघले विदेशी (भारत, युके र सिंगापुर)सरकारबाट निवृत्तिभरण प्राप्त भूपूसैनिकहरूले सम्बन्धित मुलुकका लागि गरेको योगदानको कदर स्वरूप प्राप्त गरेको सुविधा भएकाले नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताबाट बञ्चित गर्न नहुने बताएको छ । रोजी रोटीका लागि आफ्नो जीउ ज्यानको प्रवाह नगरी विदेशमा बगाएको पसिना बापत विदेशबाट निवृृृृृृृृृृत्तिभरण प्राप्त गरेकै आधारमा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित गरिनु न्यायसंगत नभएको संघका अध्यक्ष विष्णु गाहले बताए । उनले विदेशी सरकारबाट निवृत्तिभरण (पेन्सन) प्राप्त गरिरहेका नेपाली नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता दिन नमिल्ने भन्ने गृह मन्त्रालयको निर्णय विभेदकारी भएकाले उक्त निर्णय खारेज गर्न प्रजिअमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए । उक्त निर्णय खारेज गरी संघका परिवारले पनि सामाजिक सुरक्षा भत्ता पाउने ब्यवस्था मिलाउन संघले माग गरेको छ । यदि भुपुहरुको माग सम्बोधन नभए जिल्लाका भुपुहरु एक ढिक्का भई संघर्षमा उत्रिने समेत अध्यक्ष गाहाले चेतावनी दिए । यसअघि २०७५ सालमा रोकिएको सामाजिक सुरक्षाभत्ता संघकै पहलमा पुनः सुचारु भएको थियो । ज्ञापनपत्र बुझ्दै प्रजिअ रमेश न्यौपानेले ज्ञापन पत्र जस्ताको त्यस्तै प्रधानमन्त्री कार्यालयमा पठाइदिने बताए । संघका सचिव सुवेदार रामबहादुर थापाले उक्त ज्ञापन पत्र वाचन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update