पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्चिम, धादिङ, ललितपुर र काठमाडौंमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१० भुताहास्थित सडकमा बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज १४६० नम्बरको हायसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय धनिराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको देबदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटस्थित सडकमा रोकी राखेको बा.प्र.०३–००१ ख ३७५१ नम्बरको ट्रकमा बा. ६० प २३६९ नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक कञ्चनपुर भीमदत्त नगरपालिका–१९ बस्ने २० वर्षीय सागर जैसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल नेशनल अस्पताल कलंकी काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारस्थित सडकमा ईन्द्रायाणीबाट साँखुतर्फ आउँदै गरेको बा.४ ख ४४४५ नम्बरको बसबाट लडेर सोही नगरपालिका–९ बस्ने सिन्धुपाल्चोक घर भएकी ३४ वर्षीया सानुमाया दोङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै ललितपुर महानगरपालिका–४ खरिबोटस्थित सडकमा बागमती प्रदेश ०२–०२३ प ७४७९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३४ प ९०१५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा बागमती प्रदेश ०२–०३४ प ९०१५ नम्बरको मोटरसाइकल चालक सोही महानगरपालिका–४ इमाडोल बस्ने काभ्रेपलान्चोक घर भएका २१ वर्षीय जजमिन्ट स्याङताड्ढो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्का–२ अस्पातालमा उपचारको क्रममा मृत्यु भएको हो ।


