रासस
तानसेन । नेपाल सरकारले १०० पर्यटकीय केन्द्रका रुपमा सूचीकृत गरेको पाल्पाको रम्भापानीमा दैनिक १०० को हाराहारीमा पर्यटक आउन थालेका छन् । रम्भा गाउँपालिका–८ ताहँुमा रहेको रम्भादेवी मन्दिरमा करिब १०० जति पर्यटक आउने मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । उनले पर्यटकको केन्द्रका रूपमा विभिन्न विकास निर्माणका कामसमेत भइरहेको जानकारी दिँदै मन्दिरमा दर्शन तथा पूजापाठका निम्ति आउने दर्शनार्थीको समस्यालाई मध्यनजर गर्दै आवासगृह, मन्दिरवरपर तारबार तथा शौचालय निर्माण तथा मन्दिर क्षेत्रमा तारबारको काम भइरहेको जानकारी दिए । दैनिक डोकोमा मूर्ति घरमा बोकेर लग्ने र सुरक्षित राख्ने प्रचलन रहेको छ ।
विसं २०३२ मा सुनको जलप लगाइएको रम्भादेवीको मूर्ति मन्दिरबाटै चोरी भएपछि सुरक्षाका लागि पुजारीले मूर्ति बेलुका डोकोमा बोकेर घरमा लैजाने र बिहान पुनः मन्दिरमा ल्याउने गर्दछन् । बेलुका पूजापाठ सकेर मूर्ति बोकेर घरमा लगेर भोलिपल्ट बिहान बोकेर मन्दिर आउने चलन रहेको पुजारी टीकाराम बस्यालले बताए । उनले भने, ‘मन्दिरमा आउने दर्शनार्थी सकिएपछि साँझको पूजाआरधना सकेर मूर्ति तथा शिला डोकोमा बोकेर घरमा लैजाने गरेका छौँ ।’ जङ्गलमा मन्दिर भएकाले राति सुरक्षाका लागि चौकीदार बस्न पनि कोही नमान्ने भएकाले मूर्ति बोकेर घरमा लैजाने र बिहान ल्याउने उपाय नै उत्तम लागेको पुजारीको धारणा छ । मन्दिरमा एक पुजारी मूर्ति बोकेर पुग्छन् भने अर्कोले गाउँमा घरघरै अक्षता उठाउँदै जाने गर्छन् । रम्भापानीको नामले परिचित रम्भादेवी मन्दिर पाल्पाका धार्मिकस्थलमध्ये महत्वपूर्ण मानिन्छ । भगवान् राम र सीताले त्रेतायुगमा १२वर्षे वनबासका क्रममा यो जङ्गलमा आइपुग्दा निकै रमणीय वातावरणमा रमाए पनि पानी नपाएर सीता छट्पटाएपछि रामले जमीनमा वाण हानेर पानी निकाली खुवाएको किंवदन्ती छ । भगवान् रामले वाण हानेर निकालेको राम पानीकै नामबाट रम्भापानी रहेको धार्मिक विश्वास गरिन्छ ।
मन्दिरको माथीपट्टि पानी रहेको र सोही पानी मन्दिरको काम तथा सरसफाइका निम्तिसमेत प्रयोग गरिँदै आएको छ । प्रत्येक भाद्र कृष्ण अष्टमीमा मेलासमेत लाग्ने मन्दिर समुद्री सतहदेखि चार हजार ३०० मिटर उचाइमा छ । सदरमुकाम तानसेनदेखि करिब ३१ किलोमिटर पूर्वमा रहेको मन्दिरमा छिमेकी देश भारत तथा नेपालका अर्घाखाँची, पर्वत, गुल्मी, नवलपरासी र रुपन्देहीलगायत जिल्लाबाट दर्शनार्थी आउने गरेका अध्यक्ष श्रेष्ठको भनाइ छ ।
प्रत्येक वर्ष साउन १ देखि १५ गतेसम्म र एकादशी तथा त्रयोदशीका दिन बन्द रहने मन्दिरमा तत्कालीन कमाण्डर इन चिफ रुद्रशमशेरले विसं १९९९ मा घण्ट र गहना चढाएको विश्वास गरिन्छ । मन्दिरको नजिकैको क्षेत्रमा रहेको वाकुमगढीमा गोर्खाली फौज र पाल्पाली सेनवंशीय राजाबीच लडाइँ भएको भन्नेसमेत कथन छ । मन्दिर नजिकै ऋषिहरुको तपोभूमिका रूपमा परिचित रिमिघालेक, मन्दिर क्षेत्रवरपर घना जङ्गल, वन्यजन्तु, औषधिजन्य जडीबुटी, यहाँबाट देखिने हिमशृङ्खला, देखिने भएकाले पनि पर्यटकको आकर्षण बढेको छ । अध्यक्ष श्रेष्ठले सेनवंशीय राजा बसोबास गर्ने दरबारको समेत भग्नावशेष रहेको क्षेत्रको संरक्षण तथा यसको संवद्र्धन गर्नु अबको आवश्यकता रहेकामा जोड दिए ।
मन्दिरमा पुगेपछि पूजाआरधना सकेर प्रसादीका रूपमा रोट चढाए मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । ऋषिकेशव, सत्यवती, भैरवस्थानलगायत विभिन्न फरक–फरक महत्वले चिनिएका थुप्रै मन्दिर रहेको पाल्पामा रम्भादेवी मन्दिरको छुट्टै खालको धार्मिक महत्व रहेको स्थानीयवासीले बताएका छन् । मन्दिरमा आएर पूजा गरी प्रसादीका रुपमा रोट चढाएमा मनले सोचे चाहेको पुग्ने धार्मिक विश्वासका कारण धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको मन्दिर संरक्षणकर्ताको भनाइ छ ।