पाल्पा, रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका बगनासकाली गाउँपालिका–५, दर्लमडाँडाका किशोर न्यौपाने क्षेत्रीको बुधबार कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । बेपत्ता भएको २९ दिनमा न्यौपानेको अत्तोपत्तो नभएपछि निराश भएका आफन्तले कुशको शव बनाएर हिन्दु परम्परा अनुसार राम्दीघाटमा अन्तिम बिदाइ गरेका हुन् ।
न्यौपानेको खोजीमा परिवारले अनेक प्रयास गरेका थिए । २९ दिनसम्म कतैबाट सास र लास पाइने यकिन नभएपछि अन्तिम संस्कार गर्नु परेको बगनासकाली गाउँपालिका प्रवक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष टिका बहादुर थापाले बताए । न्यौपाने रसुवागढी हाइड्रोपावरमा इञ्जिनियरका रुपमा कार्यरत थिए ।
भोटेकोशी बाढीमै बेपत्ता हुनुभएका रिब्दीकोट गाउँपालिका–३ का विकास नेपाल, तिनाउ गाउँपालिका–२, झ्याङ्ला चिसापानीका ३४ वर्षीय रमेश थापा, तानसेन नगरपालिका–७, लामडाँडाकी ३५ वर्षीया निलम कार्की र तानसेन नगरपालिका–३, बसन्तपुर (कालीगण्डकी गाउँपालिका–३, वइघा, स्याङ्जा) का तिलबहादुर रानाको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् । बाढीका कारण सम्पर्कविहीन भएका पाल्पाका ११ जना मध्ये नेपाल प्रहरीमा कार्यरत तानसेनका दीपेन्द्र विष्टको मात्रै शव पहिचान भएको छ । सम्पर्कविहीन भएका रैनादेवी छहरा गाउँपालिका –१ का सशस्त्र प्रहरी जवान आन बहादुर कुमाल, रिब्दीकोट –५ का कृष्णबहादुर बस्याल, निस्दी–३ का बोम बहादुर सोमै, रामपुरका –७ का रामु सुति र रामपुर –७ कै अमृत सुतिको परिवारले भने अझै आउने आशामा बसेका छन् ।


