Shittalpati
तानसेनको मध्यकालीन पहिचान खोजिँदै, विश्व सम्पदामा लैजाने तयारी

पाल्पा, बाइसे–चौबीसे राज्यदेखि मगरात र सेन राज्यसम्मको इतिहास बोकेको पाल्पाको तानसेनलाई मध्यकालीन शहरका रूपमा विश्वसम्पदा सूचीमा समावेश गराउने तयारी अघि बढाइएको छ ।

त्यसका लागि तानसेनमा रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा जीवनशैलीसँग सम्बन्धित सम्पदाको व्यवस्थित खोज, अध्ययन, अभिलेखीकरण, संरक्षण र व्यवस्थापन गरिने भएको छ । तानसेनलाई सन् २००८ मै युनेस्कोको सम्भावित विश्वसम्पदा सूचीमा समावेश गरिएको थियो । तर त्यसयता पनि सम्भावित सूचीमै रहेको तानसेनलाई स्थायी विश्वसम्पदा सूचीमा लैजान आवश्यक प्रक्रिया अघि बढाउन सरोकारवालाबीच छलफल सुरु गरिएको छ । तानसेनमा रहेका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा स्थानीय जीवनशैलीसँग जोडिएका सम्पदाको खोज, पहिचान, संरक्षण र व्यवस्थापन गर्दै शहरको मौलिक ऐतिहासिक पहिचान स्थापित गर्ने उद्देश्यले पुरक एसिया काठमाडौं र पाल्पा विकास केन्द्रले सरोकारवालासँग छलफल तथा परामर्श गरेको हो ।

छलफलमा विषय विज्ञ तथा अनुसन्धानकर्ता भुवन केसीले तानसेनलाई मध्यकालीन शहरका रूपमा स्थापित गर्न ऐतिहासिक संरचना, बस्तीको स्वरूप, पुराना बाटो, धार्मिक तथा सांस्कृतिक स्थल, पानीका स्रोत, परम्परागत निर्माण शैली, उत्पादन प्रणाली तथा तत्कालीन सामाजिक–सांस्कृतिक जीवनसँग जोडिएका प्रमाणको व्यवस्थित खोज र अभिलेखीकरण आवश्यक रहेको बताए । उनका अनुसार मध्यकालीन संरचना तथा वस्तुको खोज र पहिचानसँगै भेटिएका सम्पदाको संरक्षण, पुनःस्थापना र तिनलाई जीवन्त राख्ने योजना पनि आवश्यक छ । स्थानीय समुदायको जीवनसँग जोडेर सम्पदालाई कसरी संरक्षण तथा उपयोग गर्ने भन्ने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनले बताए । केसीले तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न इतिहासविद्, पुरातत्वविद्, संस्कृतिविद्, वास्तुविद् लगायत विषयगत विज्ञसँग नियमित परामर्श गर्नुपर्ने बताए । त्यसका लागि स्थानीय तहले दीर्घकालीन कार्ययोजना, स्पष्ट नीति र आवश्यक कानुनी संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

पुरातत्व विभाग, संस्कृति मन्त्रालय, युनेस्को लगायत सम्बन्धित निकायसँग निरन्तर समन्वय र परामर्श गर्दै अघि बढेमा मात्र तानसेनलाई मध्यकालीन शहरका रूपमा विश्व सम्पदा सूचीमा समावेश गराउने प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन सकिने उनले बताए । इतिहास तथा संस्कृतिविद् निर्मल श्रेष्ठले तानसेनको मध्यकालीन पहिचान यहाँको रहनसहन, भेषभूषा, खानपान, बसोबासको शैली, कला–संस्कृति, धार्मिक गतिविधि, जात्रा, परम्परा, मन्दिर, मूर्ति, पुराना बस्ती तथा खेतीपाती प्रणालीसँग जोडिएको बताए । तानसेनमा अझै पनि मध्यकालीन जीवनशैलीका धेरै अवशेष रहेको भन्दै उनले तिनको खोज, अनुसन्धान र अभिलेखीकरण आवश्यक रहेको बताए । तानसेन र आसपासका धार्मिक तथा सांस्कृतिक स्थललाई समग्र ऐतिहासिक भूगोलका रूपमा अध्ययन गर्नुपर्ने उनको सुझाव छ । उनले रिडीको रुरु क्षेत्रधाम, तानसेनको रणउजीरेश्वरी भगवती मन्दिर, अमरनारायण मन्दिर तथा प्रभासको मणिमुकुन्देश्वर महादेव मन्दिरलगायतका स्थल र तिनभित्र रहेका संरचना तथा मूर्तिहरूको थप अध्ययन–अनुसन्धान आवश्यक रहेको बताए । 

मध्यकालीन शहरको पहिचान तत्काल स्थापित हुने विषय नभएको भन्दै श्रेष्ठले नगरपालिकाले यसलाई दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्ने बताए । त्यसका लागि स्पष्ट नीति तथा कार्यक्रम बनाएर पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, सम्पदा संरक्षण तथा अनुसन्धानका लागि नगरपालिकाभित्र छुट्टै संरचना वा इकाइ स्थापना गर्नुपर्ने र पुरातत्व विभाग तथा युनेस्कोलगायतका निकायसँग निरन्तर समन्वय गर्नुपर्ने उनको सुझाव छ । हृषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले तानसेनको मध्यकालीन इतिहास अध्ययन गर्दा सेनकालमा निर्माण भएको अर्गलीको सिँचाइ कुलो, अर्गली फाँट तथा आसपासका पुराना बस्तीलाई समेत अध्ययनको दायरामा समेट्नुपर्ने बताए । तत्कालीन समयमा निर्माण गरिएका सिँचाइ प्रणाली, खेतीयोग्य जमिनको उपयोग, बस्ती विकास र स्थानीय उत्पादन प्रणालीले त्यसबेलाको सामाजिक तथा आर्थिक अवस्थाबारे महत्वपूर्ण जानकारी दिने उनले बताए । लुम्बिनी प्रदेश सरकारका पूर्वसचिव तथा इन्जिनियर भीमार्जुन पाण्डेले ऐतिहासिक सम्पदा संरक्षणलाई स्थानीय समुदायको आर्थिक तथा सामाजिक जीवनसँग जोड्न सके मात्र तानसेनको मध्यकालीन पहिचान दीर्घकालसम्म कायम राख्न सकिने बताए । पर्यटनविद् मनमोहन श्रेष्ठ, पत्रकार तथा तानसेन नगर प्रज्ञा प्रतिष्ठानका पदम न्यौपाने, अनुसन्धानकर्ता पुष्कर रेग्मीलगायतले तानसेनलाई मध्यकालीन शहरका रूपमा स्थापित गर्न ऐतिहासिक सम्पदाको विस्तृत खोज तथा अनुसन्धानलाई नगरपालिकाले प्राथमिकता दिनुपर्ने बताए । उनीहरूले तानसेनको इतिहासलाई एउटा निश्चित कालखण्डमा मात्र सीमित गर्न नहुने धारणा राखे ।

मध्यकालीन संरचनासँगै शाहकाल र राणाकालमा निर्माण भएका कतिपय भवन तथा ऐतिहासिक संरचनामा मध्यकालीन सीप, शैली, संरचना तथा प्रविधिको प्रयोग भएको हुनसक्ने भएकाले तिनलाई समेत अध्ययनको दायरामा समेट्नुपर्ने उनीहरूको भनाइ छ । समयक्रममा निर्माण भएका विभिन्न संरचना तीव्र शहरीकरण, अव्यवस्थित निर्माण तथा पुराना संरचनाको स्वरूप परिवर्तनका कारण जोखिममा पर्न सक्ने भन्दै सहभागीहरूले सम्पदाको सूचीकरण र संरक्षणका लागि स्पष्ट मापदण्ड बनाउनुपर्नेमा जोड दिए । सरोकारवालाले तानसेनलाई मध्यकालीन शहरका रूपमा विकास गर्ने अभियानलाई नगरपालिकाको दीर्घकालीन विकास नीतिसँग जोड्नुपर्ने सुझाव दिएका छन् । सम्पदाको खोज तथा पहिचानपछि वैज्ञानिक अभिलेखीकरण, संरक्षण, पुनःस्थापना, स्थानीय समुदायको सहभागिता, सम्पदा क्षेत्रको व्यवस्थापन तथा प्रभावकारी सूचना प्रणाली विकास गर्नुपर्ने उनीहरूको भनाइ छ । यसका लागि नगरपालिकाले सम्पदा संरक्षणसम्बन्धी छुट्टै नीति तथा कानुनी व्यवस्था गर्दै वार्षिक बजेट तथा कार्यक्रममा आवश्यक रकम सुनिश्चित गर्नुपर्ने सुझाव पनि सहभागीहरूले दिएका छन् । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनलाई विश्व सम्पदा सूचीमा समावेश गराउने दिशामा काम अघि बढाइएको बताए । तानसेनको ऐतिहासिक तथा सांस्कृतिक पहिचान संरक्षण गर्दै पर्यटन विकासमार्फत स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउने नगरपालिकाको लक्ष्य रहेको उनले बताए ।

तानसेनलाई मध्यकालीन शहरका रूपमा विश्वभर चिनाउने, विदेशी तथा स्वदेशी पर्यटक आकर्षित गर्ने र पर्यटन गतिविधिमार्फत स्थानीय अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले विश्व सम्पदा सूचीमा समावेश गराउने प्रक्रिया अघि बढाइएको नगर प्रमुख श्रेष्ठले बताए । मध्यकालीन शहरको संरक्षण र विकासका लागि आवश्यक ऐन, नियम, कानुन तथा संस्थागत संरचना निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राखेको उनले जानकारी दिए । तानसेनको ऐतिहासिक पहिचान व्यवस्थित रूपमा स्थापित गर्न सम्पदाको खोज तथा अनुसन्धान, अभिलेखीकरण, संरक्षण र व्यवस्थापनका साथै सम्बन्धित सरकारी निकाय, विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गरेर अघि बढ्ने उनले बताए । विश्व सम्पदा सूचीमा समावेश हुने प्रक्रिया लामो र निश्चित मापदण्डमा आधारित हुने भएकाले सम्भावित सूचीमा रहेको तानसेनलाई वास्तविक विश्व सम्पदा सूचीसम्म पुर्‍याउन स्थानीय तह, पुरातत्व विभाग, संस्कृति मन्त्रालय, युनेस्को, विषयगत विज्ञ तथा स्थानीय समुदायबीच निरन्तर सहकार्य आवश्यक देखिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update