Shittalpati
स्वास्थ्यका लागि फिजियोथेरापी

फिजियोथेरापी यस्तो चिकित्सा पद्धति हो, जसमा बिरामीलाई व्यायाम गराई फिजियोथेरापिस्टले आफ्नो हातले गर्ने उपचार (म्यानुलथेरापी), पानीमा गर्ने व्यायाम (हाइड्रोथेरापी), विद्युतीय उपकरण (इलोक्ट्रोथेरापी), तातो तथा चिसोको प्रयोगले ठीक गरिन्छ । हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, घोचेकोजस्तो दुख्ने, पोल्ने, प्यारालाइसिस, मानसिक पक्षघात, मुख बांगिएको, जिउ बांगिएको, ढाडको हड्डी भाँचिएको, जन्मँदा नै असाधारण अथवा असामान्य भएको बच्चा तथा हात खुट्टा नचल्नेजस्ता धेरै दुखाइ र जोर्नी चलाई सम्बन्धित रोगहरूको उपचार यो पद्धतिबाट गरिन्छ । मानिसलाई यस्तो अवस्थाबाट सक्षम बनाउनु फिजियोथेरापीको प्रमुख उद्देश्य हो । जसलाई रिहाविलिटेसन अथवा पुनस्र्थापना भनिन्छ । नेपालमा भने यो चिकित्सा पद्धतिको विकास भएको धेरै भएको छैन । आजभन्दा झण्डै चार दशक अगाडि सरकारी अस्पतालमा केही नर्सहरूलाई फिजियोथेरापीको तालिम दिई यो चिकित्सा पद्धति नेपालमा सुरु भएको हो ।


हरेक वर्ष सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस मनाउने गरिन्छ । यस वर्ष पनि नेपालसहित विश्वभर मंगलबार मनाइएको छ । यो दिवस फिजियोथेरापीको महत्व, यस क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको योगदान तथा शारीरिक स्वास्थ्य र गतिशीलता कायम राख्न फिजियोथेरापीको भूमिकाबारे जनचेतना फैलाउने महत्वपूर्ण अवसर हो । रोग लागेपछि मात्र उपचार खोज्ने हाम्रो प्रवृत्तिबीच फिजियोथेरापीलाई स्वास्थ्य संरक्षण, पुनस्र्थापना र अपाङ्गता न्यूनीकरणको महत्वपूर्ण माध्यमका रूपमा बुझ्न आवश्यक छ । आधुनिक जीवनशैली, शारीरिक निष्क्रियता, लामो समयसम्म कम्प्युटर तथा मोबाइल प्रयोग, मोटोपना, सडक दुर्घटना, खेलकुदमा हुने चोटपटक तथा नसर्ने रोगको बढ्दो प्रभावले मांसपेशी, हाडजोर्नी र स्नायुसम्बन्धी समस्याहरू बढिरहेका छन् ।

यस्तो अवस्थामा शरीरको चाल, शक्ति, सन्तुलन र कार्यक्षमता सुधार गर्न फिजियोथेरापीको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ । नेपालमा पनि फिजियोथेरापीप्रतिको आकर्षण र आवश्यकता बढिरहेको छ । तर यसको पहुँच अझै सहज र समान छैन । राजधानी तथा ठूला सहरमा केही सेवा उपलब्ध भए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा दक्ष जनशक्ति, उपकरण र नियमित सेवाको अभाव देखिन्छ । आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि फिजियोथेरापी सेवा निरन्तर लिनु पनि चुनौतीपूर्ण हुन सक्छ । फिजियोथेरापीको महत्व बढ्नु स्वास्थ्य क्षेत्रमा आएको सकारात्मक परिवर्तन हो । अब यसको आवश्यकता महसुस गर्ने मात्र होइन, गुणस्तरीय र पहुँचयोग्य सेवा सुनिश्चित गर्ने दिशामा सरकार, स्वास्थ्य संस्था र सम्बन्धित सरोकारवाला सबैले प्रभावकारी कदम चाल्नुपर्छ । स्वस्थ शरीर र सक्रिय जीवनका लागि फिजियोथेरापीलाई स्वास्थ्य सेवाको मूल प्रवाहमा अझ मजबुत रूपमा स्थापित  गर्नु आजको अपरिहार्यता हो ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update