पुस्तकालय दिवस आज देशभर मनाइँदैछ । सरकारले २०६५ देखि हरेक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । यस दिवसले पुस्तकालयको संरक्षण, विकास र विस्तारसँगै पठन संस्कृतिको प्रवद्र्धन गर्नुपर्ने आवश्यकताको स्मरण गराउँछ । प्रविधिको तीव्र विकाससँगै सूचना प्राप्त गर्ने माध्यमहरू धेरै भए पनि पुस्तक पढ्ने बानीको महत्व घटेको छैन । बरु विश्वसनीय ज्ञान, गहिरो अध्ययन र आलोचनात्मक सोच विकास गर्न पुस्तकालयको भूमिका अझ महत्वपूर्ण बनेको छ ।
तर नेपालका धेरै पुस्तकालय अझै पनि पर्याप्त पुस्तक, प्रविधि, दक्ष जनशक्ति र भौतिक पूर्वाधारको अभावमा सञ्चालन भइरहेका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा पुस्तकालयको पहुँच सीमित छ । कतिपय स्थानमा पुस्तकालय स्थापना भए पनि नियमित सञ्चालन र व्यवस्थापनको समस्या देखिन्छ । यस्तो अवस्थामा राष्ट्रिय पुस्तकालय दिवस केवल औपचारिक कार्यक्रम गर्ने दिनमा सीमित हुनु हुँदैन । सरकारले पुस्तकालयलाई शिक्षाको आधारभूत पूर्वाधारका रूपमा प्राथमिकता दिन आवश्यक छ ।
विद्यालय, स्थानीय तह तथा समुदायमा व्यवस्थित पुस्तकालय स्थापना गरी सबै वर्ग र उमेर समूहका मानिसलाई सहज पहुँच उपलब्ध गराउनुपर्छ । पुस्तकालयलाई परम्परागत पुस्तकको संग्रहमा मात्र सीमित नराखी डिजिटल स्रोत, ई–पुस्तक र आधुनिक सूचना प्रविधिसँग जोड्नुपर्छ । साथै बालबालिका र युवामा नियमित पठन संस्कृतिको विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । आज सामाजिक सञ्जाल र छोटो सामग्रीको बढ्दो प्रभावका कारण गहिरो अध्ययन गर्ने प्रवृत्ति कमजोर हुँदै गएको देखिन्छ । यस्तो परिस्थितिमा पुस्तकालयले मानिसलाई एकाग्र भएर पढ्ने, सोच्ने र प्रश्न गर्ने वातावरण प्रदान गर्न सक्छ । पुस्तकालयको विकास गर्नु भनेको केवल भवन र पुस्तकको संख्या बढाउनु होइन; ज्ञानप्रति सम्मान गर्ने संस्कारको विकास गर्नु पनि हो । तसर्थ राष्ट्रिय पुस्तकालय दिवसले सबैलाई पुस्तकालयको महत्व बुझेर यसको संरक्षण र विकासमा योगदान गर्न प्रेरित गर्न सक्नु पर्छ । यसो भयो भने मात्र दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

