पाल्पा, प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदै छ । विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो ।
राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । ‘पुस्तकालय’ ज्ञान, सूचना र अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा रहेको भए पनि पछिल्लो समय डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तक पढ्ने बानीमा परिवर्तन आएको छ । मोबाइल, सामाजिक सञ्जाल र इन्टरनेटको सहज पहुँचका कारण पुस्तकालयमा पुगेर अध्ययन गर्ने संस्कार केही कमजोर हुँदै गएको देखिन्छ । यस्तो अवस्थामा पुस्तकालयको महत्व र उपयोगिताबारे नयाँ पुस्तालाई सचेत गराउनु आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।
नेपालमा पुस्तकालयको संस्थागत विकाससँगै विद्यालय, क्याम्पस, समुदाय तथा स्थानीय तहमा विभिन्न प्रकारका पुस्तकालय सञ्चालनमा छन् । पुस्तकालयले विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा आम पाठकलाई आवश्यक ज्ञान, सूचना र अध्ययन सामग्री उपलब्ध गराउँदै आएका छन् । सूचना प्रविधिको विकाससँगै परम्परागत पुस्तकालयलाई डिजिटल प्रविधिसँग जोड्दै आधुनिक र प्रविधिमैत्री बनाउने प्रयाससमेत भइरहेका छन् ।
राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा देशका विभिन्न स्थानमा पुस्तक प्रदर्शनी, वाचन कार्यक्रम, अन्तरक्रिया, वक्तृत्वकला, साहित्यिक कार्यक्रम तथा पुस्तकालयसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएका छन् ।
दिवसले पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थानका रूपमा नभई ज्ञान, अनुसन्धान, सिर्जना र बौद्धिक विकासको केन्द्रका रूपमा स्थापित गर्नुपर्ने आवश्यकतामाथि ध्यानाकर्षण गराउने गरेको छ ।विशेषगरी बालबालिका तथा युवामा पढ्ने संस्कारको विकास गर्न विद्यालय र समुदायस्तरमा पुस्तकालयको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता छ । स्थानीय तहहरूले समेत पुस्तकालयको संरक्षण, पूर्वाधार विकास, नयाँ पुस्तक तथा अध्ययन सामग्रीको व्यवस्थापन र डिजिटल स्रोतमा पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । पुस्तकालयको विकासले समाजमा अध्ययन र अनुसन्धानको वातावरण निर्माण गर्नुका साथै नागरिकको ज्ञान र चेतनाको स्तर बढाउन महत्वपूर्ण योगदान पु¥याउँछ । त्यसैले राष्ट्रिय पुस्तकालय दिवस केवल औपचारिक रूपमा मनाउने दिन नभई पुस्तकालयको वर्तमान अवस्था, चुनौती र भविष्यको आवश्यकताबारे समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने सरोकारवालाहरूको धारणा छ । पछिल्लो समय पढ्ने बानीमा आएको परिवर्तनका बीच पुस्तकालयलाई समयअनुकूल विकास गर्दै नयाँ पुस्तालाई पुस्तक र अध्ययनसँग जोड्न सकेमा ज्ञानमा आधारित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

