पाल्पा, आज क्वाँटी खाने दिन । घर–घरमा एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर खाने गरिन्छ । जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो ।
यो प्रचलन खासगरी नेवार समुदायमा बढी छ । पछिल्लो सयम भने सबै समुदायमा यसको लोकप्रियता बढेको छ । जनैपूर्णिमाको अवसरमा नेपाली समाजमा विशेष परिकारका रूपमा खाइने क्वाँटीको तयारी सुरु भएको छ। विभिन्न प्रकारका गेडागुडी मिसाएर तयार पारिने क्वाँटी स्वादसँगै पौष्टिकताका कारण पनि नेपाली खानपानको महत्वपूर्ण हिस्सा बन्दै गएको छ। जनैपूर्णिमाका दिन क्वाँटी खाने परम्परा लामो समयदेखि चलिआएको छ। सामान्यतया चना, मास, मुगी, बोडी, भटमास, केराउ, सिमी, मसुरलगायत विभिन्न गेडागुडी भिजाएर तथा टुसा उमारेर क्वाँटी तयार गरिन्छ। समुदाय र घरपरिवारअनुसार यसमा प्रयोग हुने गेडागुडीको प्रकार र संख्या फरक–फरक हुने गर्छ । वर्षायाममा खेतीपाती तथा अन्य शारीरिक कामका कारण शरीर थकित हुने भएकाले यस समयमा पोषणयुक्त खाना आवश्यक हुने मान्यता छ। गेडागुडीमा प्रोटिन, फाइबर, भिटामिन तथा विभिन्न खनिज पदार्थ पाइने भएकाले क्वाँटीलाई ऊर्जा र पोषणको राम्रो स्रोत मानिन्छ। पोषणविद्हरूले पनि विभिन्न गेडागुडीको मिश्रणबाट तयार हुने क्वाँटीलाई पौष्टिक आहारका रूपमा लिएका छन्।परम्परागत रूपमा क्वाँटीले शरीरमा चिसो हटाउने, पाचन प्रणालीलाई सहयोग गर्ने र शरीरलाई बलियो बनाउने विश्वाससमेत रहिआएको छ। जनैपूर्णिमासँग जोडिएको क्वाँटी खाने चलन पछिल्लो समय कुनै एक समुदायमा सीमित नरही व्यापक नेपाली सांस्कृतिक परम्पराका रूपमा विस्तार हुँदै गएको छ।यसैबीच, स्वास्थ्यका दृष्टिले क्वाँटी पौष्टिक भए पनि आफ्नो स्वास्थ्य अवस्था र खानपानको आवश्यकताअनुसार सेवन गर्न विज्ञहरूले सुझाव दिएका छन्। विशेषगरी धेरै मात्रामा गेडागुडी सेवन गर्दा केही व्यक्तिलाई पाचनसम्बन्धी समस्या हुन सक्ने भएकाले सन्तुलित रूपमा खानु उपयुक्त मानिन्छ। जनैपूर्णिमामा नयाँ जनै धारण गर्ने, रक्षासूत्र बाँध्ने र विभिन्न धार्मिक विधि पूरा गर्ने परम्परासँगै क्वाँटी खाने चलनले नेपाली संस्कृतिमा खानपान र स्वास्थ्यबीचको सम्बन्धलाई समेत उजागर गरेको छ। क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता रहेको छ ।
साउनमा मनसुनी झरी परिरहने हुँदा मानिसहरूको स्वास्थ खराब भई चिसो लाग्ने, ज्वरो आउनेजस्ता रोग लाग्ने हुँदा क्वाँटी खाँदा शक्ति बढाई रोगसँग लड्ने क्षमता बढाउने विश्वास छ । स्वास्थ्यका लागि फाइदाजनक क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, फोलिक एसिड, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । क्वाँटी शाकाहारी, गर्भवती महिला एवं बालबालिकादेखि बूढाबूढीसम्मका लागि उपयोगी छ । रेसादार खानेकुरा भएकाले यसले कब्जियत हटाउँछ अनि पाचनशक्तिमा सुधार ल्याउँछ । यसले मधुमेह नियन्त्रण राख्न सघाउ पुर्याउनुका साथै उच्च रक्तचाप नियन्त्रणमा समेत सहयोग गर्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । कोलस्टेरोल नियन्त्रण गर्छ । शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ । स्मरणशक्ति वृद्धि हुनुका साथै कुपोषण हटाउन पनि सहयोगी हुन्छ । रक्त संचार तथा स्नायुप्रणालीलाई फाइदा पुग्छ । बालबालिकाको वृद्धि–विकासमा समेत सहयोग पु¥याउने भएकाले क्वाँटीको महत्व बालबालिकादेखि वृद्धवृद्धासम्म सबैका लागि निकै महत्वपूर्ण रहेको छ ।


