Shittalpati
बेपत्तालाई सम्झिने मात्र होइन, खोजौं

आज ३० अगस्ट अर्थात् विश्व बेपत्ता विरुद्धको दिवस नेपालसहित विश्वभर मनाइँदै छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा हरेक बर्ष आजकै  दिन खयो दिवस मनाउने गरिन्छ । पहिलो पटक सन् १९८१ को जूनमा ल्याटिन अमेरिकी देश कोस्टारिकामा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा यो दिवस मनाएकोे इतिहास छ । यो दिवस केवल बेपत्ता पारिएका व्यक्तिहरूलाई सम्झिने दिन मात्र होइन, उनीहरूको अवस्था सार्वजनिक गर्न, पीडित परिवारको न्यायको अधिकार सुनिश्चित गर्न र राज्यलाई आफ्नो दायित्वप्रति जिम्मेवार बनाउन खबरदारी गर्ने अवसर पनि हो । नेपालमा पनि सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकको पीडा आजसम्म समाधान हुन सकेको छैन । अझ बेपत्ता बनाइएकाहरूको संख्या विश्वभर कति छ भन्ने यकीन तथ्याङ्क  समेत छैन ।

तैपनि बेपत्ता पारिनेमा सर्वसाधारण नागरिक हुने भए पनि बेपत्ता पार्नेहरूमा भने मूलतः राज्य, विभिन्न उद्देश्यका विद्रोही पक्ष, आफ्ना मत र विचारमा सहमत नभएका तथा विभिन्न आपराधिक समूह लगायत हुने गर्छन् । यसरी जबर्जस्ती बेपत्ता पारिने घटना संसारभर कुनै न कुनै रूपमा भइरहेका छन् । नेपालमा पनि २०५२ सालमा तत्कालीन नेकपा (माओवादी)ले थालेको दशक लामो सशस्त्र संघर्षका समयमा सरकार र विद्रोहीका तर्फबाट हजारौं नागरिक जबर्जस्ती बेपत्ता पारिएका छन् । नेपालको दश वर्षे सशस्त्र द्वन्द्वले हजारौँ परिवारलाई प्रत्यक्ष रूपमा प्रभावित बनायो । हत्या, विस्थापन, यातना र बेपत्ताजस्ता घटनाले नेपाली समाजमा गहिरो घाउ छाडेका छन् । तीमध्ये आफ्ना आफन्तको अवस्था आजसम्म थाहा नपाएका परिवारको पीडा अझ गम्भीर छ । मृत्यु भएको हो वा जीवित छन् भन्ने यकिनसमेत गर्न नपाउनु आफैंमा एउटा निरन्तर यातना हो ।

बेपत्ता व्यक्तिका परिवारका लागि वर्षौं बिते पनि पीडा पुरानो हुँदैन । नेपालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपणसँग सम्बन्धित आयोगहरू गठन भए पनि अपेक्षित परिणाम हासिल हुन सकेको छैन । आयोग गठन गर्नु मात्र पर्याप्त हुँदैन। पीडितको सत्य जान्ने अधिकार, न्याय पाउने अधिकार र उचित परिपूरणको अधिकार सुनिश्चित हुनुपर्छ । दोषीमाथि कानुनअनुसार कारबाही हुने वातावरण निर्माण हुनु पनि उत्तिकै आवश्यक छ  । बेपत्ता नागरिकको खोजी, घटनाको निष्पक्ष छानबिन, सत्यको सार्वजनिकरण, पीडितलाई न्याय र परिवारलाई सम्मानजनक परिपूरण राज्यको प्राथमिक दायित्व बन्नुपर्छ । बेपत्ता पारिएका व्यक्तिहरू केवल तथ्यांक होइनन्, उनीहरू कसैका आमा–बुबा, छोरा–छोरी, श्रीमान श्रीमती र आफन्त हुन् । उनीहरूको सम्झना र परिवारको पीडालाई सम्मान गर्नु नै सभ्य र लोकतान्त्रिक समाजको पहिचान हो । तसर्थ दिवसका दिन बेपत्तालाई सम्झने मात्र होइन खोजी पनि गरौं । 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update