बुधबार बिहान भोटेकोशी नदीमा अचानक बाढी आयो । माथिल्लो क्षेत्रमा हावाहुरीसहित ठूलो पानी परेको र त्यसलगत्तै ठूलो बाढी आएको बताइएको छ । बाढीले रसुवाको उत्तरगया गाउँपालिकामा ठूलो जनधनको क्षति भएको छ । भोटेकोशी नदीको तटीय क्षेत्रका करिब दर्जन बस्तीमा क्षति पुगेको छ । स्याप्रुबेसी, बेत्रावती, मैलुङ, सल्लेटार, शान्तिबजार, पैरेबेसी, खाल्तीबस्ती, सोले, त्रिशूली, बट्टारलगायतका बस्ती क्षेत्रमा ठूलो क्षति पुगेको छ । यो विपत्तीमा कति मानवीय क्षति भयो र कति भौतिक संरचनामा क्षति पुग्यो भन्ने अन्तिम विवरण सरकारी निकायबाट सार्वजनिक भइसकेको छैन् । तर सार्वजनिक भएका तस्बिर, भिडियो तथा मिडियाहरुले कुराकानी गरेका स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा र सुरक्षा निकायबाट प्राप्त प्रारम्भिक विवरणले ठूलो जनधनको क्षति भएको हुन सक्ने देखिन्छ ।
वर्षायाम सुरु भएसँगै रसुवा सहित देशका विभिन्न स्थानमा बाढी, डुबान र पहिरो गएका छन् । हरेक वर्ष बाढीका कारण जनधनको क्षति हुनुका साथै सडक, पुल, विद्युत्, खानेपानी तथा कृषि क्षेत्रमा ठूलो असर पर्ने गरेको छ । प्राकृतिक विपत्तिलाई पूर्ण रूपमा रोक्न नसकिए पनि पूर्वतयारी र सतर्कताका माध्यमबाट यसको क्षति भने कम गर्न सकिन्छ ।बाढीको जोखिम विशेषगरी नदी तथा खोलानाला आसपासका बस्तीमा बढी हुन्छ । लगातारको वर्षा हुँदा नदीको सतह बढ्ने, तटबन्ध कमजोर हुने र अचानक बाढी आउने सम्भावना रहन्छ । त्यसैले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसम तथा बाढीसम्बन्धी सूचनालाई गम्भीरतापूर्वक लिन आवश्यक छ । विपद्को समयमा हल्लाको पछि लाग्नुको सट्टा सम्बन्धित सरकारी निकायबाट जारी आधिकारिक सूचना पालना गर्नुपर्छ । स्थानीय तह र सम्बन्धित निकायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । जोखिमयुक्त क्षेत्रको पहिचान, पूर्वसूचना प्रणालीको प्रभावकारी सञ्चालन, उद्धार सामग्रीको तयारी, सुरक्षित स्थानको व्यवस्था तथा विपद् अभ्यासलाई प्राथमिकता दिनुपर्छ । बाढी आएपछि मात्र उद्धारको तयारी गर्ने प्रवृत्तिभन्दा विपद् आउनुअघि नै आवश्यक तयारी गर्नु बुद्धिमानी हुन्छ । नागरिकस्तरमा पनि केही सामान्य सावधानी अपनाउन सकिन्छ ।
नदी तथा खोलाको किनारमा अनावश्यक रूपमा नजाने, बाढी आएको सडक वा पुल पार गर्ने प्रयास नगर्ने, विद्युत् प्रवाह भएको स्थानबाट टाढा रहने र बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षामा विशेष ध्यान दिने गर्नुपर्छ । आपत्कालीन अवस्थामा आवश्यक पर्ने औषधि, खानेपानी, खाद्यान्न, टर्चलगायत सामग्री सुरक्षित राख्नु पनि उपयोगी हुन्छ । बाढी प्राकृतिक विपत्ति भए पनि त्यसबाट हुने क्षति धेरै हदसम्म हाम्रो तयारी र व्यवहारमा निर्भर गर्दछ । त्यसैले सरकार, स्थानीय तह, सुरक्षा निकाय र नागरिक सबैले हातेमालो गर्दै विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ । सतर्कता, पूर्वतयारी र सहकार्य नै बाढीबाट हुने क्षति न्यूनीकरण गर्ने सबैभन्दा प्रभावकारी उपाय हुन् । त्यसैले बाढीबाट आफैँ पनि सतर्क रहौँ र अरूलाई पनि सचेत गराऔँ ।

