Shittalpati
राजस्व छली रोकौँ, अर्थतन्त्र जोगाऔँ

पछिल्लो समयम भन्सार छली गरी अवैध रुपमा सामान आयता हुँदा सरकारले  ठूलो रकम राजश्व गुमाउनु परेको छ । अहिले दैनिक रूपमा भन्सार नाकाहरूबाट छुटेका ट्रक समातिने र त्यसमा तिर्नुपर्ने राजस्व नतिरिएको पाइन्छ । पछिल्ला केही वर्ष यता पाल्पामा  भन्सार छलेर  सामान ल्याउने क्रम बढेको छ । केही दिन अघि मात्र पनि यहाँका विभिन्न ठाउँहरुबाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएका अवैध सामानहरू बरामद गरेको छ । पाल्पा प्रहरीले सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३, पेडाँडामा गत शुक्रबार चार लाख ७५ हजार रुपैयाँ बराबरका विभिन्न विद्युतीय सामानसहित दुई जनालाई पक्राउ गरेको थियो । यो लगत्तै मंगलबार पनि प्रहरीले  सोही क्षेत्रबाटै भन्सार छली गरी ल्याइएका ८५ हजार ४ सय ५० बराबरको लत्ताकपडा बरामद गरेको छ ।  ति सामानहरुको कुनै पनि बिल भौचर थिएन । सम्बन्धित निकाय मौन बसिदिँदा यस्तो क्रम दिनानुदिन बढ्दै गइरहेको छ । जसको प्रत्यक्ष असर सरकारको राजश्वमा देखिएको छ ।


राज्य सञ्चालनका लागि आवश्यक स्रोतको प्रमुख आधार राजस्व हो । नागरिकले तिरेको करबाट सडक, पुल, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सार्वजनिक सेवाहरू सञ्चालन हुन्छन् । तर यही राजस्व प्रणालीमा हुने छली, कर नतिर्ने प्रवृत्ति, बिलबिजकमा हुने हेरफेर, न्यून मूल्यांकन र अवैध कारोबारले राज्यको आम्दानीमा ठूलो क्षति पु¥याइरहेको छ । राजस्व छली केवल सरकारलाई ठग्ने काम  मात्र होइन, यो अन्ततः इमानदार करदातामाथि थप भार पार्ने र मुलुकको विकासलाई कमजोर बनाउने अपराध हो । राजस्व छली रोक्न कानुन मात्र बनाएर पुग्दैन, त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ । कर प्रशासनमा पारदर्शिता, प्रविधिको अधिकतम प्रयोग, कारोबारको डिजिटल निगरानी र निकायबीच सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्छ । ठूलो कारोबार गर्ने व्यक्ति वा संस्थाले वास्तविक कारोबार लुकाएर कर छलिरहेको अवस्थामा सम्बन्धित निकायले निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान गर्न सक्नुपर्छ ।

अर्कोतर्फ, कर प्रशासन स्वयं पनि शंकामुक्त हुनुपर्छ । कर तिर्ने नागरिक र व्यवसायीलाई अनावश्यक दुःख दिने, घुस माग्ने वा पहुँचका आधारमा फरक व्यवहार गर्ने प्रवृत्ति अन्त्य नगरेसम्म राजस्व प्रशासनप्रति विश्वास बढ्न सक्दैन । करदातालाई सम्मानजनक व्यवहार गर्दै कर तिर्ने प्रक्रिया सरल, सहज र पारदर्शी बनाउन जरुरी छ । सरकार कठोर तर निष्पक्ष बन्ने, कर प्रशासन पारदर्शी हुने, व्यवसायी जिम्मेवार बन्ने र नागरिक सचेत हुने हो भने राजस्व छली नियन्त्रण गर्न सकिन्छ । राजस्व जोगाउनु भनेको राज्यको स्रोत जोगाउनु हो, र राज्यको स्रोत जोगाउनु भनेको हाम्रो साझा भविष्य जोगाउनु हो । तसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update