Shittalpati
फोटोग्राफीलाई मर्यादित बनाऔं

हरेक वर्ष अगस्ट १९ मा विश्व फोटोग्राफी दिवस मनाइन्छ । यस वर्षको दिवस बुधबार मनाइएको छ ।  यो केवल क्यामेरा र तस्वीरको उत्सव होइन, यो समय, समाज, इतिहास र मानवीय संवेदनालाई तस्वीरमार्फत सुरक्षित राख्ने शक्तिको सम्मान गर्ने दिन पनि हो । एउटा तस्वीरले हजारौँ शब्द बोल्न सक्छ भन्ने भनाइ फोटोग्राफीको वास्तविक सामथ्र्यसँग जोडिएको छ । तर अझैपनि फोटोग्राफीप्रति आम मानिसहरूको धारणा सकारात्मक बन्न सकेको छैन । यो अत्यन्तै दुखद् हो । फोटो खिच्ने काम र पेशालाई सानो काम भनेर तुच्छ बनाउने गरिएको छ । फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरूलाई प्रोत्साहन गर्न र व्यवसायिक रूपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरूको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ ।

आजको दिन विश्वभरका फोटोग्राफरहरूले खिचेका ऐतिहासिक र उत्कृष्ट फोटोहरू प्रतिष्पर्धामा राख्ने प्रचलन पनि रहेको छ । फोटोग्राफीलाई अवहेलना गर्ने गरिएपनि वास्तवमा एउटा फोटोले दिने सन्देश र महत्व एकहजार शब्दले ब्यक्त गर्न सक्दैन भन्ने कुरामा कुनै सन्देह छैन । नेपालमा फोटोग्राफीको महत्व अझै जनजनमा पुग्न सकेको छैन । यद्यपि विश्वमा भने यसको महत्व निकै ठूलो र ब्यापक छ । समाजका महत्वपूर्ण घटना, संस्कृति, प्रकृति, जीवनशैली र इतिहासलाई अभिलेखबद्ध गर्न फोटोग्राफीको भूमिका अतुलनीय छ । तर पछिल्लो समय तस्बिर खिच्ने र सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रममा मर्यादा, गोपनीयता र मानवीय संवेदनशीलतालाई बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । त्यसैले अब फोटोग्राफीलाई केवल प्रविधि र मनोरञ्जनका रूपमा होइन, जिम्मेवारीसहितको अभ्यासका रूपमा बुझ्न आवश्यक छ ।

कुनै व्यक्तिको अनुमति नलिई उसको तस्बिर खिच्नु र सार्वजनिक गर्नु सामान्य कुरा होइन । विशेषगरी दुर्घटना, विपद्, मृत्यु, हिंसा वा पीडासँग सम्बन्धित घटनामा पीडितको तस्बिर खिचेर सामाजिक सञ्जालमा फैलाउनु मानवीय संवेदनामाथिकै प्रश्न हो । यस्तो तस्बिरले पीडित तथा परिवारको दुःख थप गहिरो बनाउन सक्छ । सूचना दिने नाममा कसैको निजी पीडालाई प्रदर्शनको वस्तु बनाउनु पत्रकारिता वा फोटोग्राफीको धर्म हुन सक्दैन । त्यसैगरी बालबालिका, बिरामी, ज्येष्ठ नागरिक तथा संवेदनशील अवस्थामा रहेका व्यक्तिको तस्बिर खिच्दा विशेष सावधानी अपनाउनुपर्छ । ‘भाइरल’ हुने लोभमा अरूको व्यक्तिगत जीवन, कमजोरी वा असहज अवस्थालाई सार्वजनिक गर्नु अधिकारको उल्लङ्घन हुन सक्छ । तस्बिर खिच्न सकिन्छ भन्दैमा खिच्नैपर्छ भन्ने हुँदैन, सार्वजनिक गर्न सकिन्छ भन्दैमा सार्वजनिक गर्नैपर्छ भन्ने पनि हुँदैन । खासगरी सञ्चारकर्मीहरूले यो दिवस मनाईरहँदा फोटोग्राफीलाई मर्यादित, प्रतिवद्ध र निष्ठाको पेशाको रूपमा यसको गरिमा अभिबृद्धिमा भूमिका खेल्नु जरूरी छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update