Shittalpati
दमकडामा लायन्सको मानवीय अभियान :  ह्विलचियर, विज्ञान सामग्रीदेखि दृष्टिविहीन विद्यार्थीलाई भोजन

पाल्पा, सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित लायन्स क्लब अफ पाल्पा रानीमहलले तानसेनको दमकडामा विभिन्न मानवीय तथा शैक्षिक सहयोगका कार्यक्रम गरेको छ । क्लबले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गर्नुका साथै विद्यालयका लागि विज्ञान सामग्री र दृष्टिविहीन विद्यार्थीका लागि भोजनको व्यवस्था गरेको हो । क्लबले तानसेन–९ दमकडाका रामबहादुर कुमाललाई ह्विलचियर हस्तान्तरण गरेको छ । प्रेसरले हानेर अपाङ्ग भएका कुमालले ह्विलचियर पाएपछि दैनिक जीवनका गतिविधिमा सहजता हुने भन्दै खुसी व्यक्त गरे । उनले क्लवको टोली घरमै आएर ह्विलचियर  दिएकोमा आफुलाई भगवान आए सरह भएको भन्दै खुसी व्यक्त गरे ।

एम्बेस्डर अफ गभर्नर गंगाबहादुर खत्री, तानसेन नगरपालिका–९ का वडा अध्यक्ष राजेशकुमार भट्टराई, एरिया चिफ सुरेश भट्टराई, कार्यक्रम संयोजक जीवन पाण्डेलगायतले एक कार्यक्रमका बिच उनलाई ह्विलचियर हस्तान्तरण गरेका थिए । ह्विलचियर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि  एम्बेस्डर अफ गभर्नर खत्रीले क्लवको वास्तविक मानवीय सेवा भनेको समाजमा रहेका आवश्यकता र समस्यालाई नजिकबाट पहिचान गरी त्यसअनुसार सहयोग गर्नु रहेको बताए ।  उनले अपाङ्गता भएका व्यक्ति, विपन्न तथा सीमान्तकृत समुदाय र विद्यार्थीका आवश्यकतालाई सम्बोधन गर्ने यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने समेत उल्लेख गरे ।
 

प्रयोगशालामा सामग्री, विद्यार्थीका हातमा पुस्तक
क्लबको सेवा अभियान ह्विलचियर वितरणमा मात्र सीमित रहेन् । दमकडा माध्यमिक विद्यालयको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन विज्ञान सामग्री तथा पुस्तकसमेत  क्लवले हस्तान्तरण गरेको छ । विद्यालयको विज्ञान प्रयोगशालालाई थप व्यवस्थित र प्रयोगात्मक बनाउन आवश्यक सामग्री उपलब्ध गराइएको कार्यक्रम संयोजक लायन गुराँस आत्रेयले बताए । विज्ञान विषयको सिकाइ केवल पाठ्यपुस्तकमा सीमित नभई प्रयोग र अभ्याससँग जोडिनुपर्ने भएकाले प्रयोगशालामा आवश्यक सामग्रीको उपलब्धता महत्वपूर्ण रहेको उनको भनाइ छ । विज्ञान सामग्रीका लागि तेज घर्ती मगर तथा अल्फा आईटी, तानसेनले सहयोग गरेका थिए ।

विद्यार्थीको अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले जीवन पाण्डेले पुस्तक उपलब्ध गराएका थिए । वैदिक पूजा सामग्री, पाल्पाले पनि क्लबका लागि आवश्यक सामग्री सहयोग गरेको थियो । विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोगलाई समन्वय, व्यवस्थापन र विद्यालयसम्म पुर्‍याउने काम लायन्स क्लब अफ पाल्पा रानीमहलले गरेको हो । यसले सामाजिक संस्थाको भूमिका केवल सहयोग वितरणमा नभई समुदायका आवश्यकता पहिचान गर्ने र सहयोगी हातलाई आवश्यकतासँग जोड्ने माध्यमका रूपमा समेत देखाएको छ ।
 

जन्मदिनको खुसी दृष्टिविहीन विद्यार्थीहरूसँग
यस्तै क्लबका सदस्य कृष्णप्रसाद भट्टराईले आफ्नो जन्मदिनलाई सामाजिक सेवामा जोडेका छन् । उनले जन्मदिनको अवसरमा दमकडा माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई एक छाक भोजन गराए । व्यक्तिगत खुसीलाई विशेष आवश्यकता भएका विद्यार्थीहरूसँग बाँड्दै मनाइएको जन्मदिनले उत्सवको अर्थलाई नै फरक ढंगले प्रस्तुत गरेको छ । जन्मदिनमा आफ्ना लागि खर्च गर्ने परम्परागत शैलीभन्दा फरक, अरूको आवश्यकता र खुसीलाई प्राथमिकता दिने यो पहलले ‘आफ्नो खुसी अरूको मुस्कानमा खोज्ने’ संस्कारलाई प्रोत्साहित गरेको छ । क्लवका अध्यक्ष करुणा काफ्लेले क्लबले मानवीय तथा सामाजिक सेवाको अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता बताए । उनका अनुसार समाजमा आवश्यकता रहेका व्यक्तिको पहिचान गर्दै सहयोगी व्यक्ति तथा संस्थासँग सहकार्य गरेर सेवा विस्तार गरिनेछ ।  शिक्षा, अपाङ्गता, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर काम गर्ने क्लबको लक्ष्य रहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update