Shittalpati
नाग पञ्चमी र हाम्रो संस्कृति

सांस्कृतिक पर्वमध्ये नाग पञ्चमी पनि एक हो । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वले नेपाली समाजमा नागप्रतिको धार्मिक श्रद्धासँगै प्रकृतिप्रतिको सम्मान र संरक्षणको सन्देशसमेत दिँदै आएको छ । यस वर्षको पर्व हिन्दू धर्मावलम्बीहरूले आज मनाउँदै छन् ।  श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नागको पूजा गर्ने, घरको मूलढोकामा नागको चित्र टाँस्ने तथा दूध, अक्षता, फूललगायत सामग्री अर्पण गर्ने प्रचलन छ । विभिन्न धार्मिक मान्यताअनुसार नागलाई देवताको रूपमा पूजा गरिन्छ । वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले उनीहरूबाट सुरक्षा र घरपरिवारको सुख–शान्तिको कामना गर्दै नाग पूजा गर्ने चलन विकसित भएको मानिन्छ ।

नाग अंकित चित्र घरको मुल ढोकामा टाँस्नाले चट्याङ, आगो र सर्पको डर नहुने धार्मिक मान्यता रहेको छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्क, पद्म, महापद्म गरी आठ नागको विशेष महत्व रहेको वर्णित छ । नाग रिसाए पानीका मुहान सुक्ने र पानीको हाहाकार हुने मान्यताका आधारमा पनि नागलाई खुसी पार्न पूजा गर्ने शास्त्रीय परम्परा रहिआएको हो । यसको धार्मिक पक्ष जति महत्वपूर्ण छ, पर्यावरणीय दृष्टिले पनि यसको सन्देश उत्तिकै अर्थपूर्ण छ । हाम्रो समाजमा सर्पलाई भयको प्रतीकका रूपमा हेर्ने प्रवृत्ति अझै व्यापक छ । तर सर्प प्रकृतिको खाद्य शृङ्ख्लामा महत्वपूर्ण जीव हो । यसले मुसालगायत विभिन्न जीवको संख्या नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ र पारिस्थितिक सन्तुलन कायम राख्न भूमिका खेल्छ । त्यसैले नाग पञ्चमीलाई केवल पूजा र कर्मकाण्डमा सीमित नगरी जैविक विविधता तथा वन्यजन्तु संरक्षणको चेतना फैलाउने अवसरका रूपमा पनि लिन आवश्यक छ । परम्पराको संरक्षण गर्नु हाम्रो दायित्व हो, तर परम्पराको नाममा प्रकृतिलाई हानि पुर्‍याउनु उचित हुँदैन ।

सर्पलाई समातेर प्रदर्शन गर्ने, अनावश्यक रूपमा दुःख दिने वा अन्धविश्वासका कारण मार्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । नाग पञ्चमीको वास्तविक भावना जीवप्रति सम्मान र सहअस्तित्वमा आधारित हुनुपर्छ । पुस्तौँदेखि चलिआएको यो परम्परा हाम्रो सांस्कृतिक पहिचानको एउटा महत्वपूर्ण हिस्सा बनेको छ । तर समय परिवर्तनसँगै पर्व मनाउने शैलीमा पनि परिवर्तन आउन थालेको छ । आधुनिकताको प्रभाव, व्यस्त जीवनशैली र पश्चिमी संस्कृतिको बढ्दो आकर्षणका कारण कतिपय मौलिक परम्परा बिस्तारै ओझेलमा पर्दै गएका छन् । नयाँ पुस्तालाई आफ्नै संस्कार र परम्पराबारे पर्याप्त जानकारी नहुँदा यस्ता पर्वको वास्तविक महत्व कमजोर बन्न सक्ने खतरा छ । त्यसैले नाग पञ्चमीजस्ता पर्वलाई केवल कर्मकाण्डका रूपमा नभई यसको सांस्कृतिक, सामाजिक र पर्यावरणीय महत्व बुझाउँदै नयाँ पुस्तासम्म पु¥याउन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update