Shittalpati
इन्सेफ्लाइटिसबाट जोगिऔं

इन्सेफ्लाइटिस अर्थात् मस्तिष्कमा हुने सूजनसम्बन्धी रोग गम्भीर स्वास्थ्य समस्या हो । विशेषगरी वर्षायाममा यसको जोखिम बढ्ने भएकाले यसबाट बच्न व्यक्ति, परिवार, समुदाय र राज्य सबै सचेत हुन आवश्यक छ । समयमै उपचार नपाएमा इन्सेफ्लाइटिसले ज्यानसमेत लिन सक्छ वा दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ । पछिल्लो समय नेपालमा इन्सेफ्लाइटिसको संक्रमण फैलिरहेको खबर अहिले चौतर्फी रूपमा सार्वजनिक भइरहेको छ । तर विडम्बना के छ भने, धेरैजसो सर्वसाधारणलाई यो कस्तो प्रकारको संक्रमण हो, कसरी सर्छ, यसबाट कसरी जोगिन सकिन्छ र संक्रमण भइसकेपछि कस्ता जटिलता निम्तिन सक्छन् भन्नेबारे पर्याप्त जानकारी छैन ।

हरेक वर्ष विभिन्न किसिमका संक्रामक रोग तथा महामारीका कारण ठूलो जनधनको क्षति हुने गरेको भए पनि त्यसबाट बच्न आवश्यक पूर्वसावधानी अपनाउने विषयमा जनस्तरदेखि सरकारी तहसम्म अपेक्षित गम्भीरता देखिन सकेको छैन् । यसवर्ष हालसम्म ४६ जना यस संक्रमणबाट प्रभावित भएको र तीमध्ये ३७ जना उपचाररत रहेको तथा नौजनाको मृत्यु भएको बताइएको छ । मृत्यु भएका व्यक्तिहरूले खोप नलगाएको तथ्य सार्वजनिक भएको अवस्थामा खोपको महत्व अझ स्पष्ट हुन्छ । प्रभावकारी खोप उपलब्ध हुँदाहुँदै त्यसबाट वञ्चित हुनु कुनै पनि अर्थमा उचित हुँदैन ।

इन्सेफ्लाइटिसका विभिन्न कारण हुन सक्छन् । भाइरसजन्य संक्रमण, लामखुट्टेको टोकाइ तथा अन्य संक्रमण यसका प्रमुख कारणमध्ये पर्छन् । त्यसैले लामखुट्टेको नियन्त्रण, घर वरपरको वातावरण सफा राख्ने, पानी जम्न नदिने, झुलको प्रयोग गर्ने तथा आवश्यकता अनुसार खोप लगाउनेजस्ता उपाय अपनाउनु जरुरी छ । व्यक्तिगत सरसफाइ र सुरक्षित खानेपानीको प्रयोगले पनि संक्रमणको जोखिम घटाउन मद्दत गर्छ । इन्सेफ्लाइटिसका लक्षण देखिएमा बेवास्ता गर्नु हुँदैन । उच्च ज्वरो, तीव्र टाउको दुखाइ, बान्ता, असामान्य व्यवहार, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तन हुने जस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पु¥याउनुपर्छ । घरेलु उपचारको भरमा समय खेर फाल्नु जोखिमपूर्ण हुन सक्छ ।

इन्सेफ्लाइटिस नियन्त्रणका लागि स्वास्थ्य संस्थाले मात्र प्रयास गरेर पुग्दैन । स्थानीय तहले सरसफाइ र लामखुट्टे नियन्त्रण अभियान प्रभावकारी बनाउनुपर्छ । विद्यालय तथा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ भने नागरिकले पनि रोगका लक्षण र बच्ने उपायबारे जानकारी राख्नुपर्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो । त्यसैले सरसफाइमा ध्यान दिऔँ, लामखुट्टेको टोकाइबाट बचौँ, आवश्यक खोप लगाऔँ र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था जाऔँ । 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update